कुस्मा- पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गएराति आगलागी भएको छ।
राति १ बजेको समयमा विद्युत चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ। आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ। ७ वटा कम्प्युटर, २ मिक्सचर, हाइब्रिड, टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेसन म्यानेजर शङ्कर शर्माले जानकारी दिए।
आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ। कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प नभएको शर्माले बताए। उनका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो।
विद्युत जडान गरिएको स्वीचमा समस्या आएका कारण आगलागी हुँदा रेडियोमा पूर्णरूपमा क्षति पुगेको हो। आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ।
झण्डै ३० लाख रुपैयँभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए। तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ।
विसं २०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको रेडियो पर्वत यस क्षेत्रको पहिलो सामुदायिक रेडियो हो। (समाचार-रासस/तस्बिर-दीपक रसाइली)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।