इटहरी– पत्रकारमाथि भएको धम्कीको विषयमा अध्ययन गर्न बनेको मिसन टोलीले इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले सच्चिन तयार रहेको उल्लेख गरेको छ।
टोलीले तयार पारेको संक्षिप्त निष्कर्षमा भनिएको छ, 'मेयर चौधरीले गलत अभिव्क्ति दिएको स्वीकार गर्दै सच्चिन तयार रहेकाले सार्वजनिकस्थलमा गएर कान समातेर सयपटक उठबस गर्न तयार बताएका छन्।'
पत्रकार महासंघ प्रदेश समितीले गठन गरेको मिसन टोलीले ३ दिन लगाएर तयार पारेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो।
गत जेष्ठ २१ गते मेयर चौधरीले पत्रकार विराट अनुपमलाई 'नाकको डाँडी भाँच्न एक करोड छुट्याएको र आफ्नो ज्यानको सुरक्षा गर्नू' भन्दै धक्की दिएपछि पत्रकार महासंघले मिसन टोली गठन गरेको थियो।
महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेको संयोजकत्वमा बनेको ४ सदस्यीय मिसन टोलीले जेठ २८ गते प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनको सारांश सार्वजनिक गरेको टोलीले विस्तृत विवरण चाँडै उपलब्ध गराउने बताएको छ।
मिसन टोलीसँगको कुराकानीमा मेयर चौधरीले आफू पे्रस स्वतन्त्रता र पत्रकारिता जगतसँग मिलेर काम गर्न तयार रहेको र आफूले गलत अभिव्यक्ति दिएको स्वीकार गरेका छन्। आफ्नो गल्ती सच्याउँदै उनले ‘कान समातेर सयपटक उठबस गर्नपनि तयार’ रहेको बताए।
चौधरीले पत्रकारमाथिको ‘आक्रमण र न्युज २४ टेलीभिजनमा दिएको संविधान, कानुन मान्दिन, निर्धाले मात्र कानुनको पालना गर्ने हो’ भन्ने जस्ता अभिव्यक्ति प्रति जाँचबुझ गर्न मिसने टोलीले काम सुरु गरेको प्रतिवेदनमा उल्लेख छ।
यसअघि पत्रकार कृष्ण बहाब र विकल रेग्मी माथिको आक्रमण समेत निन्दनीय रहेको टोेलीले ठहर गरेको छ। मेयर चौधरीले पत्रकारको कारण भ्रष्टाचार नियन्त्रण गर्न बाधा गरेको भन्ने कुरा भ्रामक रहेको र सिएफएल भ्रष्टाचार प्रकरण बाहिर ल्याउने उनै पीडित अनुपम रहेको टोलीको प्रतिवेदनमा भनिएको छ।
पत्रकारमाथि बारम्बार आक्रमण भइरहँदा मेयर चौधरी सम्बद्ध पार्टी नेकपामा भने कुनै गम्भीर्यता नदेखिएको कुनै धारणा सर्वजनिक नगरेको टोलीको ठहर छ। सोही दिन धरानमा कार्यरत पत्रकार दिलबाहादुर राईमाथीको आक्रमणमा धरानकै फुर्वा शेर्पालाई पक्राउ गरी कारबारी भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
इटहरीमा भएको पत्रकार र मेयरबीचको घटनालाई लिएर टोलीले केही सुझाब दिएको छ। मेयर चौधरीले गल्ती स्वीकार गरे पनि पीडित पक्षले अनुभुति हुने गरी मेयर चौधरीले आगामी गतिविधि सच्याउनु पर्ने देखिएको छ।
पत्रकारले प्रश्न सोध्ने अधिकारलाई स्वीकार गरी आलोचना स्वीकार गर्ने बानी बसाल्नुपर्ने र समाचार लेखेकै आधारमा दुव्र्यवहार गर्ने कमजोरी स्वीकार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
साथै पत्रकारले पनि आफ्नो आचारसंहिताको ख्याल नगर्दा सम्पूर्ण पत्रकारिता जगत नै आलोचित भइरहेको टोलीको ठहर छ। त्यलाई शुद्धीकरण गर्न पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रले विषेश तालिमको आयोजना गर्नुपर्ने टोलीले सुझाव दिएको छ।
पत्रकारले पनि होच्याउने र अशिष्ट प्रश्न गर्ने बानी त्याग्नुपर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिपणी नगर्न टोलीले सुझाब दिएको छ।
इटहरीमा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मिसन टोलीका सदस्य तथा महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले टोलीले दिएको सुझावलाई सबै पत्रकारले पालना गर्नसके आगामी दिनमा यस्ता घटना नदोहोरिने बताए।
त्यस्तै टोलीका संयोजक न्यौपानेले टोलीले कुनै पुर्वाग्राही ढंगले नभई निष्पक्ष रुपमा त्यसमा संलग्न धेरै मानिसको कुरा सुनेर प्रतिवेदन तयार पारेको बताए।
अर्का सदस्य तथा महासंघ प्रदेश सचिव विवेक गौतमले आचारसंहिता विपरीत कुनै पत्रकराले गतिविधि गरेको सिफारिस भए त्यसको सदस्यता रद्द गरी कारबाही गरिने बताए।
प्रतिवेदन सार्वजनिक पछि संयोजक न्यौपानेले पत्रकार महासंघ प्रदेश सचिव गौतमलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।