तस्बिर : मन्त्री विष्ट र साउदी अरबका श्रम तथा सामाजिक विकास मन्त्री अहमद विन सलमान अलराझी
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्विट्जरल्याणस्थित जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली श्रमिकका विभिन्न गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्बन्धलाई व्यवस्थित बनाउन जोड दिएका छन्।
उक्त समारोहमा उपस्थित रहेका विभिन्न गन्तव्य मुलुकहरूका समकक्षीहरूसँग छुट्टाछुट्टै छलफल गरी श्रम सम्बन्ध लगायत द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन मन्त्री विष्टले जोड दिएका हुन्।
मंगलबार मन्त्री विष्टले साउदी अरब र लेवनानका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गरी श्रमिकहरूकै हकहितका सम्बन्धमा छलफल गरिएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
सहसचिव घिमिरेका अनुसार मंगलबार दिउँसो मन्त्री विष्टले लेवनानका श्रम मन्त्री मोहम्मद क्यामिल अवुसेलेमन र साउदी अरबका श्रम तथा सामाजिक विकास मन्त्री अहमद विन सलमान अलराझीसँग छलफल गरेका थिए।

तस्बिर: मन्त्री विष्ट र लेवनानका श्रम मन्त्री मोहम्मद क्यामिल अवुसेलेमन
त्यस्तै सुडान,जोर्डन लगायत अन्य मुलुकसँग समेत छलफलका लागि कुटनीतिक नियोगहरूले तयारी गरिरहेको सहसचिव घिमिरेले उल्लेख गरेका छन्।
आइएलओको शतवार्षिकी समारोहका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सहितको नेपाली टोली जेनेभा पुगेको छ। उक्त टोलीमा श्रम मन्त्री विष्टसहित सहसचिव घिमिरे समेत सहभागी छन्।
सोही समारोहकै अवसर पारेर नेपालले मरिसस र युएईसँग श्रम समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम समेत राखेको छ।
मरिसससँग आज मंगलबार नेपाली समय अनुसार साझ ७ः ४५ बजे समझदारी हुँदैछ भने युएईसँग जेठ ३१ गते समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।