नयाँ दिल्ली (एजेन्सी)- ऋतिक रोशन र कंगना रनोटबीच भएको विवाद २०१७ भरि समाचारमा निकै छायो। यस विवादबारे बलिउड दुई हिस्सामा बाँडिएको थियो। तर, कंगना र ऋतिक विवादलाई थाती राखेर आ-आफ्नो जिन्दगीमा अघि बढिसकेका छन्।
कंगना आफ्नो करिअरमा केन्द्रित हुँदै अहिले सलमान खानको सहयोगको पर्खाइमा छिन्। उनले सलमानसँग एउटा विशेष चिज मागेकी छिन्। सूत्रहरुका अनुसार, कंगनाले आफ्नो नयाँ फिल्मको लागि नाम मागेकी हुन्। फिल्मका लागि 'मेन्टल' नाम उपयुक्त भए पनि त्यो टाइटल सलमानसँग सुरक्षित रहेको थाहा पाएपछि उनले सहयोग मागेकी हुन्।
कंगना र उनका निर्माता शैलेश आर सिंहले 'मेन्टल' नाममा फिल्म बनाउन दर्खास्त दिँदा यो नाम सलमानले पहिल्यै लिएर राखेको थाहा पाएका थिए। अहिले कंगनाको टिमले यो नामका लागि सलमानसँग गुहार मागिरहेको छ।
तर, सलमानलाई कंगनाले एक समय यस्तो 'घात' गरेकी थिइन्, त्यो सायद बलिउडका 'भाईजान'ले बिर्सेका नहोलान्। कंगनाले सलमानसँग फिल्म 'सुल्तान' मा काम गर्ने प्रस्ताव आउँदा अस्वीकार गरेकी थिइन्। त्यस क्रममा कंगनाले फिल्ममा आफ्नो भूमिका बलियो नभएको कारण दिएकी थिइन्।
अब हेर्नु छ, उदार मनका लागि कहलिएका सलमानले कंगनालाई फिल्मको नाम देलान् या आफैंले साँचेर राख्लान्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।