जेनेभा- प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने भएका छन्।
आज नै प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्ड सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नेछन्।
देश विकासको अभिभाराप्रति सचेत छौं : प्रधानमन्त्री
यसैबीच प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी भए।
प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेका थिए।
सो अवसरमा उनले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाई तीव्ररुपमा अघि बढाउनुपर्ने खाँचो रहेको र अहिलेको सरकारले त्यो अभिभारालाई ग्रहण गरेको उल्लेख गरे। विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको पनि उनको भनाइ थियो।
'लामो बलिदानपूर्ण सङ्घर्ष समाप्त भएर जनताले ठूलो विश्वास यो सरकारलाई सुम्पेका छन्,' प्रधानमन्त्रीले भने, 'सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय हो।' गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको समेत प्रधानमन्त्रीले स्मरण गरे।
प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्विट्जरल्यान्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए। गैरआवासीय नेपाली नागरिक सङ्गठन स्विट्जरल्यान्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए।
यसअघि युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा सुरुमा प्रधानमन्त्री ओली आइतबार कतारको दोहाबाट जेनेभा पुगेका हुन्। जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित स्विस मिसनका प्रमुख भ्यालेन्टिन जेलवेगरका साथै नेपाली राजदूतसहित नियोगका अधिकारीहरुले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।