धनुषा– धनुषाको विदेह नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलित बनेपछि झडप भएको छ।
विदेह नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूले ताला लगाएपछि मेयरपक्षका यूवाहरूसँग झडप भएको हो। झडपका क्रममा केही विद्यार्थीलाई चोटसमेत लागेको छ।
मेयर बेचन दासले बाहिरका गुण्डा बोलाएर विद्यार्थीहरूलाई कुट्न लगाएको अभिभावकहरूले आरोप लगाएका छन्।
झडपमा विद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेकृष्ण गोइत, विदेह नगरपालिका वडा नम्बर १ का अध्यक्ष विनोद गोहितमानलाई समेत चोट लागेको छ।
घटनास्थलमा प्रहरी रहेपनि उल्टै मेयरका लठैतहरूलाई सहयोग गरेको विद्यार्थीहरूको आरोप छ।
शुक्रबार पनि विद्यार्थीहरूले नगरपालिकामा तालाबन्दी लगाउँदा प्रहरीले लाठी चार्ज गरेका थिए। ताला प्रहरीले फोडेपछि पुनः आज विद्यार्थीहरूले तालाबन्दी गरेका थिए।
साथै सडक अवरुद्ध गरेर विद्यार्थीहरूले मेयर दासविरुद्ध प्रदर्शन समेत गरे। त्यसपछि मेयर पक्षका व्यक्तिहरू पुग्दा झडप भएको स्थानीयले बताए।
मेयर दासले शिक्षकको तलब, छात्तवृत्ति रकम र विद्यालय नमूना घोषणा भएपछि आएको बजेट रोकेर राकेपछि विवाद सिर्जना भएको हो।
तलब नपाएको भन्दै शिक्षकले पठन पाठन नगराउने भनेपछि विद्यार्थी आक्रोशित भएर मेयर विरुद्ध खनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।