काठमाडौं– तराईमा शीतलहर बढेपछि यसको प्रभावलाई कम गर्न गृह मन्त्रालयले तयारी अघि बढाएको छ।
सोमबार बसेको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ। तर, शीतलहरको प्रभाव कम गर्ने ठोस योजना भने मन्त्रालयसँग केही छैन। सर्वसाधरणलाई नै पूर्वतयारी गर्न आग्रह गरिएको छ।
बैठकको निर्णय नम्बर ५ को एउटा बुँदामा न्यानो कपडाको जोहो समयमै गर्न आग्रह गर्दै शीतलहरको समयमा खुला ठाउँमा धैरै समय नबिताउन, घर बाहिर निस्कनुपर्दा न्यानो कपडा लगाउन आग्रह गरिएको छ। गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आगो ताप्न, तातो खानेकुरा खान समेत आग्रह गरिएको छ।
बैठकले विपद् व्यवस्थापनको क्षेत्रमा आबद्ध संघसंस्थालाई पूर्व तयारीमा सक्रिय बनाउने, शीतलहरबाट प्रभावित हुने गाउँ तथा टोलको पहिचान गरी दाउरा तथा कम्बलको भण्डारन गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यकर्मी तथा औषधी पर्याप्त मात्रामा राखी समूहहरु परिचालन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।
शीतलहर प्रभावित जिल्लाहरुमा सम्भावित सम्भावित जोखिमलाई न्यूनीकरण गर्न वन तथा भू संरक्षण मन्त्रालयलाई दाउरा उपलब्ध गराउन आग्रह गर्ने निर्णय समेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।