काठमाडौं- विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी २ दिने दक्षिण एसियाली सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ।
सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहनेछ। यस्तै चीनका प्रतिनिधि पनि सहभागी हुनेछन्।
सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ। यस्तै विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखहरुको पनि प्रस्तुति रहने छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्, पुनर्निर्माण लगायतका विषयमा तुलनात्मक रुपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए।
गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत बिमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेको उपलब्धीहरु तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले समेत सिक्न सकून भनेर सम्मेलनको आयोजना गरेको बताए।
सोमबार र मंगलबार हुने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।