तस्बिरः बेपत्ता व्यापारी तुलसी दासकी श्रीमती सोमिन्द्रा। इन्सर्टमा बेपत्ता व्यापारी दास।
राजविराज- सप्तरीमा एक जना व्यापारी १४ दिनदेखि बेपत्ता छन्। उनको अपहरण भएको आशंका गरिएको छ।
सदरमुकाम राजविराजस्थित हटियामा किराना व्यापार गर्दै आएका ४६ वर्षीय तुलसी दास गत जेठ १४ गतेदेखि सम्पर्कविहीन भएका हुन्।
राजविराज-१६, बोरिया निवासी दास १३ गते नै घरबाट निस्किएका थिए।
विवाहमा सहभागी हुन सर्लाही जान भन्दै हिँडेका उनले १४ गते साँझ सिरहाको लहानबाट फोन गरेका थिए। त्यसपछि सम्पर्कविहीन भएको पत्नि सोमिन्द्रादेवीले बताईन्। घर फर्किदा पसलका लागि सामान लिएर आउँछु भन्दै बोकेको ५० हजार रुपैयाँका कारण उनको अपहरण भएको हुन सक्ने सोमिन्द्राको आशंका छ।
तुलसीका साथी राजविराज-९, जोलहरीका रेशमलाल यादवले पैसाका लागि पतिलाई बेपत्ता बनाएको उनको आशंका छ। रेशमविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जेठ १९ गते किटानी जाहेरी दर्ता गराएकी छिन्। तर, ७ दिन बितिसक्दा पनि प्रहरीले खोजतलासमा सहयोग नगरेको उनको आरोप छ।
यसरी भएको थियो घटना
तुलसी र रेशम एक अर्काका साथी हुन्। हाल राजविराज-९ मा बसोबास गरेपनि ५ वर्षअघिसम्म रेशमको घर बोरियामै थियो। रेशमले नै तुलसीलाई विवाहमा जान खबर गरेका थिए। १३ गते बिहान ८ बजे रेशम र तुलसीसँगै घरबाट निस्किएको पत्नि सोमिन्द्रा बताउँछिन्।
१४ गते तुलसीले लहानबाट सोमिन्द्राको मोबाइलमा फोन गरी ‘चिन्ता गर्नुपर्दैन हामी सँगै छौं’ भनेका थिए। तर, त्यसपछि उनी सम्पर्कविहीन भएका र आफ्नो मोबाइलमा फोन आएको नम्बरको मोबाईल पनि स्विच अफ भएको सोमिन्द्राले जानकारी दिईन्।
तुलसी सम्पर्कबिहीन भएपछि रेशम पनि बेपत्ता छन्।
रेशमकै संलग्नतामा पतिको अपहरण गरिएको उनले दाबी गरिन्। रेशमले यतिबेला पनि बेलाबखत घरमा सम्पर्क गर्ने गरेको उनको दाबी छ।
‘पहिला एकै ठाउँमा बस्ने भएकाले उसको बारेमा हामीलाई र हाम्रो बारेमा उसलाई धेरै कुराको जानकारी छ,’ सोमिन्द्राले भनिन्, ‘उसको विगत पनि त्यति राम्रो छैन। अहिले पनि उसको संलग्नता स्पष्ट देखिएकाले हामीले उजुरी दिएका छौं।’
तर, प्रहरीले सहयोग नगर्दा चिन्ता बढ्दै गएको उनको भनाई छ।
प्रहरी भन्छ- घटनाको गाम्भीर्यता नै बुझाईएन
जिल्ला प्रहरी कार्यालय सप्तरीले भने पीडित परिवारले नै घटनाको गाम्भीर्यता बुझाउन नसक्दा मान्छे खोजतलासमा ढिलाई भएको जनाएको छ।
‘सोमिन्द्राले जेठ १९ गते विपक्षीलाई झिकाई कारबाही गरी पाउँ भन्ने निवेदन दिईन्’ इन्स्पेक्टर गुरु तिम्सिनाले भने,‘निवेदनका आधारमा वडा प्रहरी कार्यालयमा दुई पक्ष छलफल पनि भएको हो। तर, त्यति बेलासम्म अपहरण र मान्छे बेपत्ता भएको कुरा नै आएन।’
एक/दुई दिनदेखि सोमिन्द्राले आफ्नो पति अपहरणमा परेको भन्न थालेपछि प्रहरीले पनि सोहीअनुसार खोजतलास सुरु गरेको उनले बताए। ‘सुरुमै प्रहरीलाई घट्नाको गाम्भीर्यता बुझाईएन,’ उनले भने,‘प्रहरीले घटनालाई बुझेको छ, अब हामी चाँडै नै यसको यथार्थमा पुग्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।