काठमाडौं- रोजगारीका लागि विदेश जाने कामदारहरुको बिमा अनलाइन प्रणालीबाट गर्ने तयारी वैदेशिक रोजगार विभागले गरेको छ।
आगामी आर्थिक वर्षको सुरुदेखि वैदेशिक रोजगारीमा जाने कामदारको बिमा अनलाइन प्रणालीबाट गर्ने तयारी भइरहेको विभागले जानकारी दिएको हो।
रोजगारीको खोजीमा विदेशिने कामदारले घरमै बसेर मोबाइलबाटै बिमा सेवा लिन सक्ने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए। ‘अनलाइनमार्फत् बिमा सेवाका लागि हामी तयारी गरिरहेका छौँ,’ उनले भने, 'वैदेशिक रोजगारीमा जाने कामदारले गर्ने म्यादी बिमामा हुने अनियमिताता रोक्न तथा कामदारमाथि आइपर्ने समस्या निराकरण गर्न अनलाइन प्रणालीको प्रावधान अघि सारिएको हो।'
वैदेशिक रोजगारीमा जाने कामदारको बिमा गर्न काठमाडौं सोल्टीमोडमा विभिन्न बिमा कम्पनीले सटर भाडामा लिएर बिमासम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन्।
बिमा कम्पनीको नाममै खोलिएका सटरमा नै कामदारहरुको श्रम स्वीकृतिका लागि भरिने अनलाइन फारम समेत भर्ने/भराउने काम हुँदै आएको छ। अनलाइन फारम भरेबापत ३ सय शुल्क लिनुपर्ने व्यवस्था छ। तर, यस्ता अव्यवस्थित सटरले १ हजार ५ सयसम्म रकम असुली गर्ने गरेको गुनासो विभागसमक्ष कामदारले गर्दै आएका छन्।
कामदारलाई विभिन्न सेवा शुल्क देखाएर बिमा गर्दा तिर्नुपर्ने रकमभन्दा बढी असुल्ने क्रम बढिरहेको छ।
यस्ता ठगी कम गर्नसमेत आगामी साउनदेखि वैदेशिक रोजगारमा जाने कामदारको बिमा मोबाइलबाटै गर्न सकिने गरी अनलाइन प्रणालीको व्यवस्था गरिने विभागको भनाइ छ।
विभागले सुरुमा अनलाइन बिमा प्रणालीको परीक्षण गर्ने, परीक्षणपश्चात् सो प्रणाली कार्यान्वयनमा ल्याउने उल्लेख गरेको छ।
अनलाइन बिमा प्रणाली सञ्चालनका लागि बिमा कम्पनीहरु वा सबै सरोकारवालासँग छलफल अगाडि बढाएको विभागले उल्लेख गरेको छ।
अनलाइन बिमा प्रणाली विकास भएपछि वैदेशिक रोजगारमा जाने कामदारहरुले मोबाइल बिमा गर्दा पासपोर्ट नम्बर र बिमा कम्पनीको नाम उल्लेख गरी बिमा शुल्क बैंकमा अनलाइनबाट नै बुझाउन सकिने व्यवस्था गर्न लागिएको हो।
यस व्यवस्था कार्यान्वयनमा आएपछि बिमा कम्पनीमा धाएर लाइन बस्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ।
अनलाइन बिमा गर्दा आफूले श्रम स्विकृति लिएको म्यानपावरको नामसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिने विभागले जनाएको छ। अनलाइन प्रणालीमार्फत बिमा गर्दा कामदारको समयको बचत हुने मात्र नभई ठगी कम हुने समेत विभागको विश्वास छ।
सरकारले २०६४ सालदेखि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपाली कामदारले 'म्यादी जीवन बिमा' गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्यरूपमा म्यादी बिमा गर्नुपर्ने 'वैदेशिक रोजगार ऐन २०६४'को दफा २७ मा उल्लेख छ।
१८ देखि ३५ वर्ष उमेर समूहका युवाको साढे २ वर्षे वैदेशिक रोजगारी बिमा गरिँदै आएको छ। यसका लागि ३ हजार ५ सय २४ रुपैयाँ प्रिमियम (बिमाको किस्ता)वार्षिक तिर्नुपर्ने व्यवस्था छ।
बिमा समितिका अनुसार रिलायबल इन्स्योरेन्स कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्सलगायत कम्पनीले रोजगारीमा विदेश जाने कामदारको बिमा गर्दै आएका छन्।
वैदेशिक रोजगारीमा गएका कामदारहरुको मृत्यु भएमा बिमावापत् २० लाख रकम पाउने व्यवस्था छ। अंगभंग तथा विभिन्न १५ किसिमका दीर्घ तथा घातक रोग लागेमा रोगको प्रकृतिअनुसार बिमा कम्पनीमार्फत रकम पाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।