फाइल तस्बिर।
दुल्लु- दैलेखमा ३ दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ। हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो।
विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोरेका छन्। सुर्खेतको गरगरेमा ६ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताए।
उनले ढलेको पोल बनाइसकेको, रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेखतर्फको विद्युत लाइन मर्मत गरिरहेको बताए।
विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन्। दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन् भने व्यवसायसमेत ठप्प छन्। विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन्। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ।
त्यसैगरी, दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन्। अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ। आधिकारिकरूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ।
घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन्। घण्टैपिच्छे झ्याप्प–झ्याप्प जाने विद्युत सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायत प्रभावित बनेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।