काठमाडौं– विमानस्थलबाट चिम्पान्जी तस्करीको आरोपमा एयरपोर्ट भन्सारका तीन कर्मचारीसहित प्रहरीले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । भन्सार अधिकृत आशुतोष राई तथा नायब सुब्बाद्धय चुणामणि शर्मा र लिला पनेरुलाई समेत प्रतिवादी बनाउदै मुद्दा दायर भएको हो । उनीहरुमध्ये राई र शर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ । पनेरु फरार छिन् ।
चिम्पान्जी तथा बाँदरहरु तस्करी भएको बेला उनीहरु जाँचपासमा संलग्न थिए । घुस खाएर उनीहरुले तस्करीमा सहयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । उनीहरुलाई एयरपोर्ट भन्सार कार्यालयले समेत निलम्बन गरिसकेको छ । भन्सारका तीन कर्मचारी, एक क्वारेन्टाइन कार्यालयका कर्मचारी र अन्य ६ जना तस्करीमा संलग्नहरुलाई मुद्दा दायर गरिएको सिआईबीका एसपी जिवन श्रेष्ठले बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले विमानस्थलबाटै पास भएको दुई वटा चिम्पान्जी, आठ वटा बाँदर र एक सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई गत असोज ३१ गते पक्राउ गरेको थियो । सिआईबीले सञ्जिव भारती र राजकुमार तिवारी, भारतीय नागरिकहरु मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका गरेको थियो ।
पक्राउ परेकामध्ये राजकुमार तिवारी भन्सार एजेन्ट हुन् । तस्करहरुले उनै तिवारीमार्फत कर्मचारीलाई घुस खुवाएर चिम्पान्जि तथा बाँदर विमानस्थलबाट पास गराएका थिए । तिवारीले नायब सुब्बा चुणामणि शर्मालाई ५० हजार रुपैयाँ दिएर चिम्पाञ्जि पास गरेको बयान दिएका छन् । घुस खुवाएर चेकजाँच बिनै पास गर्ने क्वारेन्टाइन कार्यालयका नासु धिरेन्द्र बहादुर शाहलाई समेत सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको छ ।
तस्करीमा संलग्न समूहले नाइजेरियाबाट चिम्पाञ्जि, बाँदर तथा चराहरु ल्याएको हो । चराहरु ल्याउने पाइने भएपनि संरक्षित वन्यजन्तु चिम्पान्जीको ओसारपसार प्रतिबन्धित छ । उनीहरुले चराभित्र चिम्पाञ्जि लुकाएर ल्याएको थिए । नेपालबाट भारतमा लैजान चिम्पान्जी ल्याइएको थियो । जसमा अन्तराष्ट्रिय गिरोहकै संलग्नता देखिएको छ ।
सिआईबीले सरकारी वकिल कार्यालयमार्फत आइतबार अदालतमा संगठित अपराध मुद्दा दायर गरेको थियो । पक्राउ परेका तीनजना भारतीय चिम्पाञ्जी लिन नेपाल आएका थिए । पाकिस्तानी नागरिक खान पैसा लिनका लागि मंगलबार मात्र दुबईबाट नेपाल आएका थिए । तस्करीको नाइके उनी नै भएको बताइएको छ । जिल्ला वन कार्यालयले तस्करीमा सहयोग गर्ने कर्मचारीलाई उपस्थित गराउन भन्सार कार्यालयलाई पत्राचारको तयारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।