काठमाडौं- ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको थियो। त्यसको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो।
उक्त पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ। भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ।
आइतबार बिहान ८ बजे बुंगमतीबाट मच्छिन्द्रनाथको भोटो जावलाखेल ल्याइनेछ। आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै भोटो पुर्याइने संस्थानले जनाएको छ।
सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मतीमा राखिने परम्परा छ भने हरेक वर्ष यहाँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ। यसका लागि पाटनको जावलाखेलबाट रथ तानी बुङ्मती, जावलाखेलमा ल्याइन्छ।
यस्तो छ जात्राको किम्बदन्ती
करिब १४ सय वर्ष पहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौं, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएको बताइन्छ।
किम्बदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि मल्लकालमा नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे। डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। नागराजले पुरस्कारस्वरुप बहुमूल्य मणिजडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइदिए।
बहुमूल्य मणिजडित भोटो पाएका किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। सोहीक्रममा मनुष्यरुपी भूत आएर त्यो भोटो लग्यो। किसानले खोजे तर पाएनन्। मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे।
भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटकका राजा नागराजलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो। त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले 'यो भोटो कसको हो' भनी देखाउने गर्छन्। कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिंदै आएको छ। अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।