फाइल तस्बिर : युरोप प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्विट्जरल्यान्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन्।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागी हुन आज बिहान दोहाबाट जेनेभाका लागि प्रस्थान गर्नेछन्। जेनेभापछि प्रधानमन्त्री ओलीले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रेस सल्लाहकार डा कुन्दन अर्याल तथा सांसदहरु विमलप्रसाद श्रीवास्तव र विन्दा पाण्डेलगायत छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।