धनगढी- बिहिबार कैलालीमा आएको विनाशकारी हावाहुरीपछि अझसम्म पनि जनताले विद्युत् सेवा उपभोग गर्न पाएका छैनन्। तर भिआईपीका निवास र कार्यालयसम्म भने विद्युत् सेवा सुचारु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले शनिबार साँझसम्म धनगढीका सबै जनताको घर उज्यालो भइसक्ने दाबी गरेको थियो। तर आज साँझ अबेर सम्म प्रदेश सरकारका कार्यालय, मन्त्री निवास र प्रदेशसभामा मात्र विद्युत् सेवा सुचारु भएको छ।
जनताले सेवा पाउने मुख्य स्थान तथा अस्पतालमा विदयुत सेवा अवरुद्ध भएको ३ दिन बितेको छ। यस अवधिमा प्राधिकरणले भिआइपीका निवास र कार्यालयमा मात्र अवरुद्ध विद्युत सेवा सुचारू गरेको छ। हावाहुरीबाट घाइते भएकाको उपचार भइरहेको अस्पताल सेतीमा समेत विद्युत सेवा सुचारु भएको छैन।
यस विषयमा प्राधिकरणको धनगढी कार्यालमा सम्पर्क गर्दा प्राधिकरणले कसैलाई विभेद नगरेको दाबी गरेको छ। निर्माणका क्रममा रहेकाले सबैतिर सेवा प्रवाह भइनसकेको तर भिआइपी निवासका लागि मात्र भनेर छुट्टै काम गरेर जनतालाई विभेद भने नगरिएको प्राधिकरणले दाबी गरेको छ।
बिहिबारको हावाहुरीका कारण २ जनाको मृत्यु भएको थियो भने एक सय भन्दा बढी घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।