जनकपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐन २०७५ मार्फत् चिकित्सकीय शिक्षा प्रणालीलाई सरकारले एकद्वार प्रणाली लागु गर्ने भएको बताएका छन्।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अभिमुखीकरण तथा प्रविधिकरण कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन गर्दै मन्त्री पोखरेलले स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण गरिएअनुसार नै संघ र प्रदेशमा एउटै मापदण्ड अनुसार निर्धाण गरिएको कोर्ष लागु हुने प्रष्ट पारे।
उनले संघीय शिक्षा नीति संघीय सांसदबाट पारित हुने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले यस विधेयक अनुसार सिटीईभीटी बाहेक विश्वविद्यालय र प्रतिष्ठान मार्फत दिइने चिकित्सा शिक्षा खारेजी हुने बताए।
उनले प्रष्ट पार्दै भने, ‘विश्वविद्यालय र प्रतिष्ठानको कोर्ष फरक–फरक आफू अनुकुल भएको र कसैसँग मेल नखाने भएको हुनाले चिकित्सा शिक्षा आयोगमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको अराजक र मनोमानीलाई नियन्त्रण गरि शिक्षा पद्धती अन्तर्राष्ट्रियकरण गर्न खोजिएको हो।’
उनले स्वास्थ्य र शिक्षाको नाममा रहेको विकृतिलाई रोक्नका लागि र दक्ष जनशक्ति उत्पादन गरी अन्य मुलुकमा गएर पनि सहज ढंगले काम गर्न सकोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्र तर्फको अराजकता रोकिनेमा विश्वास व्यक्त गरे ।
उनले चिकित्सा शिक्षा आयोगबारे प्रष्ट पार्दै भने, ‘यस आयोगले मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्न र समुचित व्यवस्था गरी वितरण प्रणाली अनुसार विकट गाउँदेखि सुगम शहरसम्म चिकित्सकलाई परिचालन गरिनेछ । यस आयोगले भुगोल, जनसंख्या र आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्नका लागि समेत कार्य गर्नेछन्।’
उनले यस आयोगले सेवाग्राही, शिक्षा र अनुसन्धानतर्फ विशेष जोडसहित काम गर्ने बताए। उनले यस आयोगले काम थालेसँगै नरसिंह होम, विश्वविद्यालय र प्रतिष्ठानलगायतकाले वितरण गरिरहेको सर्टिफिकेटको औचित्य सकिने बताउदैँ उनले यसको मान्यता स्वतः खारेज हुुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।