इलाम– बत्ती बल्ने बहुमूल्य ढुंगा अमेरिकास्थित नासालाई बिक्रि गर्नै भन्दै एक समहूले नाटकीय शैलीमा साढे दुई करोड रुपैयाँ ठगी गरेको छ। पाँचथरका राजकुमार तामाङको समूहले पाँच जना व्यक्तिलाई ठगी गरेको हो। 
तामाङसहित गिरोहका पाँच जनालाई पक्राउ गरी प्रहरीले आइतबार इलाममा सार्वजनिक गरेको हो । उनीहरुले बत्ती बल्ने ढुंगा बिक्री गर्ने भन्दै पैसा लिएर ठगी गरेका हुन्। 
नासामा लगेर बेच्ने भन्दै प्रलोभन 
उक्त ढुङगा बहुमूल्य भएको र अमेरिकास्थित नासाले करोडौंमा खरिद गर्ने भन्दै तामाङले इलामका तारा भट्टराई, डिल्ली ढुंगाना, राजेन्द्र रिजाल लगायतलाई बिश्वस्त पारेका थिए। उनीहरु ५ जना मिलेर संयुक्त रुपमा ढुंगामा लगानी गर्ने योजना बनाए। 
पाँचै जनालाई तामाङले ढुंगा पनि देखाए। ढुंगा छुन दिदैन थिए। टाढैबाट ढुङगामा रातो बत्ती बलेको देखाउँथे। ‘खासमा ढुङगालाई रातो कपडामा राखेर मोबाइलबाट बत्ती बालेर ढुंगा बलेको भनेर झुक्याएका रहेछन्,’ संघीय प्रहरी इकाई मेचीका एसएसपी पिताम्बर अधिकारीले भने,‘सामान्य किसिमको ढुङगालाई बहुमुल्य भन्दै उनीहरुले झुक्याएर ठगी गर्न खोजिएको देखियो।’ 
६ महिना लगाएर ठगी 
प्रहरीका अनुसार करिब ६ महिना अघि नै ठगीको घटनाक्रमको सुरुवात भएको थियो। पटक-पटक गरेर तामाङले पीडितहरुसँग पैसा लिएका थिए । कतिसम्म एक व्यक्तिले त आफुसँग पैसा नभएपछि तामाङलाई करिब ५० लाख मूल्य बराबरको जग्गा नै पास गरेर दिएका थिए। 
पैसा दिएको लामो समय हुँदा पनि तामाङले ढुङगा दिएनन्। उनले अनेक बहाना गर्न थाले। धेरै दबाब दिएपछि गत मंसिर २५ गते ढुंगा लिन उनीहरुले इलामको तिल्केनीमा बोलाए। एउटा घरको छेउमा ढुङगा लुकाएर राखेको भन्दै किन्न खोज्नेहरुलाई बाटैमा राखेर उनी त्यता गए। ढुंगा लिएर आउँदै गर्दा ४/५ जना युवाले आफुलाई लुटेको भन्दै उनले गुनासो गरे। केही युवा कराउँदै भागेका समेत थिए। जसका कारण घटनाक्रम विश्वसनीय नै थियो।
त्यो ठाउँमा होहल्ला भएपछि प्रहरीले तामाङसहितका व्यक्तिहरुलाई पक्राउ गर्यो। उनले आफ्नो धनमाल लुटेको दाबी गरे। तर, प्रहरीलाई उनको कुरा शंकास्पद लागिरहेको थियो। 
घटनास्थलमा गएर प्रहरीले सर्च गर्दा तीन वटा पेस्तोल भेटियो। जसले घटनालाई थप शंकास्पद बनायो। घटनाको तीन दिनपछि ढुंगा किन्ने भनिएका व्यक्तिहरु प्रहरी सम्पर्कमा आएपछि मात्र रहस्य खुल्यो। 
‘ढुंगा लुटिएको भनेर उनले नाटक गरेका थिए’, एसएसपी अधिकारी भन्छन्,‘आफ्नौ चिनजानका व्यक्तिहरुलाई उनले त्यहा उपस्थित मात्र गराएको अनुसन्धानमा खुल्यो।’ 
त्यसरी तामाङलाई घटनामा सहयोग गर्ने  फाल्गुनन्द– ४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ, वडा नं ६ का ६० वर्षीय योगेन्द्रप्रसाद आङ्देम्बे   फिदिम नगरपालिका–१० याङ्नामका ३३ वर्षीय भय विक, फालेलुङ गाउँपालिका वडा नम्बर–८ का ५४ वर्षीय महेन्द्रकुमार दर्जीलाई पनि पक्राउ गरिसकेको छ। 
घटनाका मुख्य योजनाकार तामाङ पूर्व लडाकु हुन्। उनी अपराधमा माष्टरमाइण्ड भएको एसएसपी अधिकारी बताउँछन्। व्यवसायीहरुसँग लिएको ९० लख १० हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उपर जिल्ला प्रहरी कार्यालय इलामले ठगी, हातहतियार मुद्दा चलाउने जनाएको छ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।