राजविराज- सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले पत्रकारहरुलाई दुर्व्यवहार गरेका छन्। शनिबार सिडिओ पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी कर्मचारीलाई निर्देशन दिइरहेका बेला कार्यक्रमस्थलबाट पत्रकारलाई निकालेका हुन्।
मन्त्री यादव कर्मचारीहरुप्रति कडा रुपमा प्रस्तुत भएपछि कार्यक्रमलाई बीचमै रोकेर उनले पत्रकारहरुलाई बाहिर निकालेका थिए। कर्मचारीहरूसँगको आन्तरिक छलफल भएकाले कार्यक्रम सकिएपछि पत्रकारसँग छुट्टै कुरा गर्ने भन्दै उनले सबै पत्रकारलाई निकाले।
‘पत्रकारहरू भएर मन्त्रीजीले खुलेर कुरा गर्न सक्नुभएन, त्यसैले तपाईंहरू बाहिर गइदिनुस्। अन्तिममा हामी तपाईंहरूसँग छुट्टै बसेर कुरा गर्छौं,’भन्दै उनले पत्रकारलाई कार्यक्रमस्थल बाहिर निकालेका थिए।
सिडिओबाट प्रत्रकारमाथि भएको सो घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीले आपत्ति जनाएको छ।
महासंघका अध्यक्ष जितेन्द्र खड्गाले शनिबारै प्रेस विज्ञप्ति जारी गरी घट्नाको विरोध गरेका हुन।
‘उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवद्वारा जिल्लास्थित कार्यालय प्रमुखलाई निर्देशन दिन बोलाइएको कार्यक्रममा पत्रकारहरुलाई गरिएको अपमानजनक व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कार्यालय प्रमुखहरुले राखेका कुरा आम सरोकारका विषय हुन्। तर, ती समस्या सार्वजनिक हुने भयले प्रजिअले गरेका व्यवहार र शैलीप्रति हाम्रो गम्भीर आपत्ति छ।’
आम नागरिकलाई सुसुचित गर्न सहयोग गर्नु पर्ने निकायको प्रमुखले नै सूचनाका संवाहकलाई कार्यक्रमस्थलबाट निकालेर सूचना दबाउने कार्य गरेको महासंघको ठहर छ। ‘त्यसैले यस कदमलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,' विज्ञप्तिमा भनिएको छ।
आगामी दिनमा सूचना लुकाउन गरिने यस्ता हर्कत बन्द गर्न र पत्रकारलाई अपमान गर्ने कार्य नदोहोर्याउन सम्बन्धित पक्षलाई महासंघले सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।