नयाँ दिल्ली (एजेन्सी)- वर्ष २०१७ भारतीय कमेडियन कपिल शर्माका लागि निकै खराब रह्यो। यही वर्ष उनको साथी कलाकार सुनील ग्रोवरसँग झगडा भयो र सुनीलसहित अन्य कलाकारले सोनी च्यानलको 'द कपिल शर्मा शो' छाडे। त्यससँगै बिस्तारै शो को टिआरपी खस्कियो र अन्ततः कार्यक्रम नै बन्द गर्नुपर्यो।
अर्कातिर, कपिलले धेरै महत्वाकांक्षा राखेर बनाएको फिल्मले पनि असफलता खेप्यो। फिल्म 'फिरंगी' बक्स अफिसमा फ्लप भयो। दुवैतर्फ धक्का खाएपछि राम्रो खबर आइरहेको छ, कपिल फेरि एक पटक पुरानो मञ्च अर्थात् टिभीमा फर्कंदै छन्।
भारतीय सञ्चार माध्यममा आएको खबर अनुसार उनी आगामी वर्ष 'द कपिल शर्मा शो' को सिजन २ सुरु गर्ने तयारीमा छन्।
एक अंग्रेजी वेबसाइटका अनुसार, 'द कपिल शर्मा शो' सिजन २ को प्रोमो उनी चाँडै सुटिङ गर्दै छन्। जनवरीको पहिलो सातामा सुटिङ हुने मानिएको छ। अहिलेसम्म शोमा अरु कलाकार को-को रहनेछन् भन्ने खुलाइएको छैन।
कपिलले आफ्नो छवि सुधारेर फेरि आफ्ना प्रशंसकलाई प्रभावित पार्न सक्छन् कि सक्दैनन्, यो भने उनका लागि चुनौती छ।
कपिलले पुरानो शो मा बलिउडका हस्तीहरुलाई सुटिङ सेटमा कुराएर आफू नआउने गरेका कारण उनी बदनाम बनेका थिए। उनले सुपरस्टार शाहरुख खान, अजय देवगन र अनिल कपुरलाई लामो समय कुराउनुका साथै उनीहरुलाई फिर्ता जान बाध्य पारेका थिए।
कपिलले यी सबै नकारात्मक पाटोलाई बिर्साउँदै अब टिभीमा कुन रुपमा आफूलाई प्रस्तुत गर्नेछन्, यो भने हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।