काठमाडौं– बंगलादेशका लागि सरकारले राजदूतमा सिफारिस गरेका डा वंशीधर मिश्रले सिफारिस देशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बंगलादेश बाहेक अन्य देशमा इच्छाएका उनलाई त्यस देशमा सिफारिस गरेपछि उनी बेखुसी देखिएका हुन्।
नेपाललाइभसँग कुरा गर्दै उनले भने,‘परराष्ट्रमन्त्रीले बिहीबार सोध्नुभएको थियो। यहि देश होला भन्ने लागेको थिएन।’
परराष्ट्रमन्त्रीसँगको वार्ताको क्रममा अन्य देशमा रुचि रहेको उनले सुनाएका थिए। मिश्रले भने,‘मैले त सकभर उता(कुन देश खुलाएनन्) गर्ने भनेको थिएँ। तर, बंगलादेशको लागि सिफारिस गरिएछ।’
मन्त्री भइसकेको व्यक्तिलाई बंगलादेशको राजदूत बनाएको भन्दै मिश्रले सिफारिसप्रति असन्तुष्टि जनाए। उनले भने, ‘राजनीतिक करियरमा राजदूत लागि मेरो लागि ठूलो पद होइन। मन्त्री भइसकेको व्यक्तिलाई बंगलादेशको राजदूत बनाउन खोज्छन् साथीहरू। के गर्न खोज्या हो?’
असन्तुष्टि रहेपनि सरकारले गरेको सिफारिस मान्ने उनले बताए। मिश्रले इच्छाएको देशबारे जिज्ञासा राख्दा उनले भने, ‘अब छोडिदिउँ। जे अवसर आयो गर्ने हो। त्यसपछि देखाजायगा।’
मधेसको २०४८ देखिको सांसदलाई राजदूतको सिफारिस गर्दा अवमूल्यन गरिएको भन्दै सिफारिस प्रति उनले असन्तुष्टि व्यक्त गरे। पूर्व स्वास्थ्यमन्त्री समेत रहेका मिश्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन्।
तत्कालीन कांग्रेस सरकारले तोकेका डा चोपलाल भुसाललाई सरकारले फिर्ता बोलाएपछि उक्त स्थानमा मिश्रलाई सिफारिस गरेको हो।
बिहीबारको मन्त्री परिषद्को बैठकले सत्तारुढ दलका तीन शीर्ष नेताका पक्षधर चार जनालाई भागबण्डाका आधारमा राजदूत सिफारिस गरेको थियो।
कतारका लागि सिफारिसमा परेका नारद भारद्धाज प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्। अष्ट्रेलियाको लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकटका महेश दाहाललाई सिफारिस गरिएको छ।
स्पेनका लागि सिफारिस दावाफुटी शेर्पा सगरमाथाको पहिलो महिला आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।
तत्कालीन नेपाली कांग्रेस सरकारले राजदूत तोकेकाहरूलाई फिर्ता बोलाइ सरकारले नयाँ व्यक्ति पठाउन लागेको हो। अष्ट्रेलियाका लागि राजदूतमा कार्यरत लक्की शेर्पा आर्थिक अनियमिततामा परेको उजुरी परेपछि राजीनामा दिएकी थिइन्।
पूर्व सरकारले श्रीलंका र जापानमा पठाएका राजदूतलाई भने फिर्ता बोलाइएको छैन। जापानका लागि प्रतिभा राणा र श्रीलंकाका लागि डा विश्वम्भर प्याकुरेललाई अघिल्लो सरकारले छनोट गरेपनि सरकारले यथावत राखेको छ।
सरकारले दक्षिण कोरिया र दक्षिण अफ्रिकाका लागि नयाँ राजदूत बिहीबार सिफारिस गरेन।
कोरियाबाट अर्जुन बहादुर सिंह र दक्षिण अफ्रिकाबाट अमृत बहादुर राईलाई फिर्ता गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।