दाङ– 'विप्लव' नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य वीरबल ओलीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
बन्दी प्रत्यक्षीकरणमा परेको रिटमा बिहीबार सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुरले छाड्न आदेश गरेको थियो। सोही आदेशलाई पालना गर्दै छाडिएका ओलीलाई पुनः अदालतको गेटबाटै प्रक्राउ गरिएको हो।
उच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र ईश्वर पोखरेलको इजलासले गैरकानुनी रुपमा थुनामा राख्न नहुने भन्दै छाड्न आदेश दिएको थियो।
ओलीलाई गत चैत्र २४ गते जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका १३ बनगाउँमा रहेको उनकै घरबाट पक्राउ गरी थुनामा राखेको थियो।
लगत्तै जिल्ला प्रशासन कार्यालय दाङमा परेको सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा ७ हजार धरौटीमा छाड्न आदेश दिएपछि उनलाई गेटबाटै पक्राउ गरेर रोल्पा लगिएको थियो ।
रोल्पामा लगेर उनलाई राष्ट्रिय तथा सम्पदा विरुद्धको कसुर, विष्पोटक पदार्थ र आपराधिक प्रवेश तथा आपराधिक उपद्र विरुद्धको कसुरमा रोल्पा अदालतले ३० हजार धरौटीमा छोड्न आदेश गरेको थियो।
सोही आदेश पश्चात जेठ १४ गते प्रहरीले उनलाई छोडेर पुनः गेटबाटै पक्राउ गरी प्यूठान लगिएको थियो।
गैरकानुनी थुनामा राख्न नपाइने भन्दै ओलीकी बहिनी कल्पना ओलीले उच्च अदालत तुलसीपुरमा रिट निवेदन दायर गरेकी थिइन्। त्यसको सुनुवाइ गर्दै उच्च अदालतले प्रहरीलाई छोड्न आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।