नेपालगन्ज– पश्चिम नेपालका तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शितलहरले जनजीवन कष्टकर हुँदै गएको छ। आकाश कुहिरोले ढाकेको छ भने चिसो पनि बढेको छ।
तीव्र रुपमा चलेको चिसो हावा र शितलहरले सर्वसाधारणलाई घर बाहिर निस्कन र काममा जान समेत मुस्किल हुन थालेको छ। शितलहरका कारण विद्यालय जाने बालबालिकाको संख्यामा पनि कमी आएको छ। चिसोका कारण बालबालिकामा रुघाखोकीको समस्या देखिन थालेको छ।
चिसोबाट बालबालिकालाई बचाउन न्यानो कपडाका साथै टोपी, पन्जा लगाइदिने, चिसोमा धेरै खेल्न दिन नहुने, तातो र झोलिलो खाने कुरा खुवाउनुपर्ने भेरी अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डा शकिल अहमद खाले बताए।
चिसोबाट बच्न नेपालगन्जबासीले सहरका ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन्। शितलहरले गर्दा बढेको चिसोले बजारको चहलपहल पनि घटेको छ भने सवारी साधनहरु पनि दिउँसो बत्ती बालेर गुड्नुपर्ने अवस्था आएको छ।
बाक्को हुस्सका कारण नेपालगन्जको राँझा विमानस्थलबाट मध्य पश्चिमका पहाडि जिल्लामा हुने उडानहरु अवरुद्ध भएका छन्। नेपालगन्जबाट काठमान्डौका लागि बिहानमा हुने उडानहरु पनि डिले हुन थालेका छन्।
विमान उडानका लागि कम्तिमा १६ सय मिटरसम्म देखिने हुनुपर्ने नागरिक उड्न प्राधिकरणको कार्यालय नेपालगन्जलले जनाएको छ। बाक्लो कुहिरो र हुस्सुका कारण अहिले नेपालगन्जको आकाशमा १ हजार मिटरसम्मको दृश्य पनि देख्न मुस्किल भएको विमानस्थलले जनाएको छ। नेपालगन्ज विमानस्थलबाट ६ नम्बर प्रदेशका पहाडी जिल्ला तथा काठमाडौंमा गरेर दैनिक २० वटा उडान हुँदै आएका छन्। प्रतिकूल मौसमका कारण आज बिहान १० बजे सम्म कुनै उडान हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।