काठमाडौं– भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका १ हजार ६ सय बेरोजगार युवाहरूलाई रोजगारी दिने गरी सरकारले सूर्यविनायक नगरपलिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ।
चालु आर्थिक वर्षमा युवाहरूलाई उपलब्ध गराउने ३० दिने प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश नं ३ अन्तर्गत भक्तपुरबाट शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको हो।
कार्यक्रम अन्तर्गत भक्तपुरका ४ वटा नगरपालिकाका १ हजार ६ सय युवाहरू रोजगारीका लागि सूचिकृत भइसकेको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार युवाहरूलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेकाले यसलाई प्रभावकारी कार्यान्वयमा जोड दिने बताए।
उनले भने, ‘अब सरकारले युवाहरूलाई देशभित्रै रोजगारीका अवसरहरू ल्याएको छ, बाध्यताले काम खोज्दै कोही पनि युवा विदेश जानु पर्दैन, कोही पनि युवा भोकै मर्नु पर्दैन।’

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम ३० दिनको मात्रै अघि सारिए पनि आगामी आर्थिक वर्षमा युवाहरूलाई दीर्घकालीन, व्यवस्थित, मर्यादित र नियमित रोजगारी उपलब्ध गराउने गरी सरकार अगाडि बढिरहेको बताए।
उनले भने, ‘हामीले श्रम गर्नसक्ने, शिक्षित, अशिक्षित, दक्ष, अदक्ष सबै किसिमका युवा जनशक्तिहरूलाई देशमै काम दिन्छौं।’
शुक्रबार श्रमिकहरूले भक्तपुरको कटुन्जे सुवर्ण चोकदेखि तीन धारासम्मको सडकको निमार्ण कार्य सुभारम्भ गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ।
सडक निमार्ण कार्यक्रम श्रम मन्त्री गोकर्ण विष्ट आफैंले बेल्चाले खनेर शुभारम्भ गरेका थिए।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नदी सरसफाइ, सडक सरसफाइ, कुलो तथा सडक निर्माण, पाटिपौवा निर्माण लगायतका काममा युवाहरूलाई सहभागी गराइने उल्लेख छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।