काठमाडौं– एनसेलको सञ्चालक तत्कालीन स्पाइस नेपालले ०६६ सालमा मोबाइल उपकरण खरिदमा भन्सारमा कम मूल्य देखाई राजस्व छल्न गरेको प्रयासमा २ सय प्रतिशत जरिवाना तिर्नुपर्ने भएको छ।
सर्वोच्च अदालतले तत्कालीन स्पाइस नेपालले ०६६ सालमा खरिद गरेको ‘मोबाइल टेलिकम इक्विपमेन्ट’ मा छलेको भन्सार र त्यसको २ सय प्रतिशत जरिवानासहितको रकम असुल गर्न फैसला सुनाएपछि एनसेलले रकम बुझाउनुपर्ने भएको हो।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाकोे संयुक्त इजलासले राजस्व छल्ने उद्देश्यले गलत बिजक मूल्य पेश गरी भन्सारबाट सामान भित्र्यााएको ठहर गर्दै एनसेलसँग जरिवानासहित असुल गर्न मंसिर १४ गते आदेश दिएको हो।
१७ जेठ ०६६ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा इरिसन एबी स्वीडेनबाट टेलिकमको उपकरण खरिद गर्दा गलत मूल्य देखाएर राजस्व ठगी गरेको मुद्दा टुंग्याउँदै सर्वोच्चले एनसेलबाट असुल गर्न भन्सार कार्यालय र सरकारको नाममा आदेश दिएको छ।
यसरी गरिएको थियो भन्सार छलीको प्रयास
०६६ जेठ १७ मा स्पाइस नेपालको नाममा दर्ता भएको उक्त कम्पनीले इरिसन एबी स्वीडेनबाट टेलिकमको इक्विपमेन्ट खरिद गर्न लागेको भन्दै भन्सार कार्यालयमा पैठारी सम्बन्धी प्रज्ञापनपत्रमा बिजक मूल्य अमेरिकी डलर १६५५२१.९८ उल्लेख गरी पेश गर्यो। ३ असार ०६६ मा उसको पत्र अनुसार भन्सार कार्यालयले सामान हेरेर जाँचपास गर्यो।
त्यसको एक सातापछि असार ९ गते स्पाइस नेपालले अर्को पत्र भन्सार कार्यालयलाई पठायो। चलानी नम्बर ३७३३ रहेको उक्त पत्रमा सरकारबाट भन्सार छुटको सुविधा पाएको दाबी गर्दै फिर्ता पाउन माग गरियो। त्यसको कुनै जवाफ नपाएपछि ५ दिनपछि फेरि सोही व्यहोराको अर्को पत्र लेख्यो।
उक्त पत्रको जवाफ नआउँदै स्पाइसले अर्को प्रज्ञापनपत्र भन्सार कार्यालयमा पेश गर्यो। अघिल्लो पटक ७२०८४२८८१० नम्बरको मोबाइल इक्विपमेन्ट मगाएको भनी प्रज्ञापन पेश गरेको स्पाइसले एक महिनापछि ७२०८४०९७७८ नम्बरको नयाँ प्रज्ञापनपत्र पेश गर्यो। जसको बिजक मूल्य अमेरिकी डलर ५५८१०९८.१४ उल्लेख गरियो।
०६६ असार ३ गते पेश भएको सामानको बिल मूल्य अमेरिकी डलर ७२१५४३.०४ बराबरको ७७ अदतको ६४ युनिटमा महसुल बुझाउनुपर्नेमा पहिले नै बुझाइसकेको बिजक बिल मूल्य अमेरिकी डलर १६८८३२.४२ घटी मूल्यको पेश गरी महसुल बुझायो।
त्यसलाई जाँच गर्दा गलत विवरण बुझाएको देखिएपछि भन्सार कार्यालयले अमेरिकी डलर ५५२७१०.६२ थप बुझाउन र गलत विवरण बुझाएकाले महसुलको २ सय प्रतिशत जरिवाना पेश गर्न पत्र लेख्यो। भन्सार ऐन ०६४को दफा ५७ अनुसार गलत विवरण पेश गरी सामान छुटाएमा महसुलको २ सय प्रतिशत जरिवाना हुने उल्लेख छ। भन्सार ऐनको सोही व्यवस्था देखाउँदै भन्सार कार्यालयले पत्र लेख्यो।
भन्सार कार्यालयको पत्र अनुसार स्पाइसले ०६६ असार १७ मा अमेरिकी डलर ५५२७१०.६२ नबिल बैंक मार्फत जम्मा गर्यो। तर, उसले गलत विवरण पेश गरे वापत भर्नुपर्ने जरिवाना भने तिर्न अस्वीकार गर्यो। भन्सार विभागलाई झुक्याएर छल्न खोजेको राजस्वको पोल खुलेपछि उसले मानवीय भुलवश गलत विवरण पेश भएको भनी आफूलाई बचाउने प्रयास गर्यो।
तर, भन्सार कार्यालयले त्यसलाई अस्वीकार स्वीकार गर्दै जरिवाना बुझाउन ताकेता गरिरह्यो। भन्सार कार्यालयले दबाव दिन थालेपछि स्पाइस नेपालका तर्फबाट कार्यकारी प्रमुख पासी कोस्तेननले राजस्व न्यायाधीशकरण गुहारे। न्यायाधीकरणले ०६६ माघ २८ गते पैठारीकर्ताले पछिल्लो पटक पेश गरेको प्रमाणकोे सम्बन्धमा विचारै नगरी सुरु कार्यालयले गरेको फैसला फरक पर्न सक्ने अवस्था देखिन सक्ने भन्दै छलफलमा बोलायो।
दुवै पक्षको छलफलपछि ०६८ फागुन १८ मा न्यायाधीकरणका अध्यक्ष दीपककुमार कार्की, राजस्व सचिव तारादेवी जोशी र लेखा सदस्य भगिराज इङ्गनामको इजलासले सामान्य मानवीय भुल मात्र पैठारीकर्ताले गरेको भनी निष्कर्ष निकाल्नु न्यायोचित नहुने फैसला सुनायो।
न्यायाधीकरणले पुरानो बिजक पेश गरी घटी घोषणा हुन पुगेको अमेरिकी मूल्य ५५२७१०.६२ मा लाग्ने राजस्व २७ लाख ६९ हजार ९ सय १० को २ सय प्रतिशत ५५ लाख ३९ हजार ८ सय २० तिर्नुपर्ने फैसला सुनायो। न्यायाधीकरणको उक्त फैसला कार्यान्वयन गर्न अस्वीकार गर्दै स्पाइसबाट एनसेलमा रुपान्तरण भएको कम्पनीका तर्फबाट टमी होलोपाइनेन् ०६९ असोज २९ गते पुनरावेदन दर्ता गरायो।
उक्त पुनरावेदनमाथि पाँच वर्षपछि फैसला सुनाउँदै सर्वोच्चले सुरु भन्सार कार्यालय र राजश्व न्यायाधीकरणले जरिवाना लगाउने भनी गरेको निर्णयलाई सदर हुने फैसला सुनाएको हो।
सर्वोच्चको यो आदेशसँगै भन्सार छल्न खोजेको एनसेल जरिवाना तिर्न बाध्यकारी भएको छ। आठ वर्षअघि राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने जरिवाना उसले बुझाउनुपर्ने नजीर सर्वाेच्चबाट कायम भएको छ।
त्रिवि विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायाणप्रसाद सापकोटाले यसबारे सर्वोच्चले फैसला गरेको आफूले सुने पनि फैसला प्राप्त नभएको बताए। अदालतको फैसला प्राप्त भएपछि नियमानुसार असुल गरिने सापकोटाले उल्लेख गरे।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।