राजविराज– सप्तरीमा समानुपातिकतर्फ प्रतिनिधि र प्रदेशसभा दुवैमा गरी एक लाखभन्दा बढी मत बदर भएको छ। निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी रहेको दाबी गरे पनि यो तथ्यांकले मतदाताले पर्याप्त जानकारीबिनै मत हालेको देखिएको छ।
समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि खसेको २ लाख ३६ हजार ८ सय मतमध्ये ५० हजार २ सय २३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, प्रदेशसभातर्फ खसेको २ लाख ३६ हजार ८ सय मतमध्ये ६४ हजार ८ सय ६० मत बदर भएको छ।
समानुपातिकतर्फ सबैभन्दा बढी क्षेत्र नम्बर ४ मा बदर भएको छ। जहाँ ६० हजार ७ सय ८० मत खसेकोमा १६ हजार २ सय ९६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ। यस्तै, प्रदेशसभातर्फ सबैभन्दा बढी प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) र १ (२) मा देखिएको छ। जहाँ कुल ६३ हजार ८ सय ८४ मत खसेकोमा १७ हजार ३ सय ५० मत बदर भएको छ।
मतगणनामा खटिएका गणक कर्मचारीहरुका अनुसार बदर भएका अधिकांश मतपत्रमा दुई वा दुईभन्दा बढी छाप लगाइएको थियो भने कतिपय मतपत्रमा स्वस्तिक छापको सट्टा ल्याप्चे लगाइएको थियो। एक गणकले भने, ‘एउटै मतपत्रमा कतै छाता र मसाल त कतै रुख, छाता र मसालमा पनि छाप लगाइएको पाइयो।’ कतिपय मतपत्रमा छापै नलगाएको पनि पाइएको उनले बताए।
सबैतिर मतदाता शिक्षा कार्यक्रम पुग्न नसक्नु र त्यसको प्रभावकारी अनुगमन समेत नहुनु बदर मत बढ्नुको कारण भएको जानकारहरु बताउँछन्।
सरकारले बदर मत संख्या घटाउन मतदाता शिक्षाका लागि लाखौं रुपैयाँ खर्च गरे पनि त्यसको सदुपयोग हुन नसकेको स्थानीय बुद्धिजीवीहरु बताउँछन्।
‘हामीले धेरै मत बदर हुँदै छ भनेर यसबारे पटक–पटक कुरा राखे पनि सरोकारवाला निकायले हामी गर्दैछौं मात्र भने’, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, ‘यस्तो हुन्छ भनेर निर्वाचन अगाडि नै संकेत देखिएको हो, आखिर त्यस्तै भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।