कैलाली- कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने ३२ जनाभन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा गोदावरी नगरपालिका मझगाउँका अनुमानित २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले बताए।
'घाइतेको उद्धारकार्य जारी रहेकाले थपिने क्रम जारी छ। १ जनाको मृत्यु भएको र एक जनाको अवस्था गम्भीर रहेको भन्ने विवरण आएको छ,' एसपी गिरिले फोनमा भने।
घाइतेको उद्धार गरी विभिन्न अस्पताल पुर्याउने काम जारी रहेको समेत उनले उल्लेख गरे।
बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको छ।
'हावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, ढलेका रुखले गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको छ,' एसपी गिरीले नेपाल लाइभसँग भने।
धनगढी उपमहानगरको ढुंगेबजार क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएको समेत उनले जानकारी दिए। बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले उल्लेख गरेका थिए।
क्षतिको थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।