कैलाली- कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण १५ जनाभन्दा बढी घाइते भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
हावाहुरीका कारण धेरै नै क्षति भएको तर मानवीय क्षतिको विवरण भने आइनसकेको तर १५ जनाभन्दा बढी नै घाइते भएको कैलाली प्रहरीका एसपी सुदीप गिरीले बताए।
'हावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, ढलेका रुखले गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको छ,' एसपी गिरीले नेपाल लाइभसँग भने।
धनगढी उपमहानगरको ढुंगेबजार क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएको समेत उनले जानकारी दिए। बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले उल्लेख गरे।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।