जनकपुर– लोकसेवा आयोगमार्फत कर्मचारी भर्नाका लागि गरिएकाे विज्ञापन समावेशी नभएको भन्दै वीरगञ्जमा युवाहरूले बिहीबार विज्ञापनको प्रतिलिपी जलाएका छन्।
सरकारले सार्वजनिक गरेको विज्ञापन विभेदकारी एवं संविधान विपरीत रहेको भन्दै विराेधस्वरुप प्रतिलिपी जलाइएकाे हाे।
साँझ ५ बजे घण्टाघर चोकमा ओमप्रकाश सरार्फको अगुवाइमा लोकसेवा तयारी गरिरहेका विद्यार्थीले विज्ञापनकाे प्रतिलिपी जलाएर विरोध गरेका हुन्।
उनीहरूले आफ्नो अधिकार रक्षाका लागि संविधान विपरीत रहेको विज्ञापनको विरोध गरेकाे बताए।
उनीहरूले आरक्षणबिनाको विज्ञापन खारेज गर्न माग गर्दै नारावाजीसमेत गरेका थिए।
त्यसैगरी लोक सेवा आयोगको विज्ञापन सच्याउन माग गर्दै राजपा समर्थित विधार्थी संगठन राष्ट्रिय विधार्थी संघले जलेश्वर स्थित लोक सेवा आयोगको कार्यालय घेराउ गरेका छन्।
विधार्थी संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुको अगुवाइमा बिहीबार १ घण्टा कार्यालय घेराउ गर्दै विधार्थीहरू धर्नामा बसेका थिए।
आयोगले जेठ १५ निकालेको विज्ञापनमा मधेसी, आदिवासी जनजाति लगायतका आरक्षित कोटा काटेको भन्दै विधार्थीहरूले विरोध स्वरूप कार्यालय घेराउ गरेको नेता झाले जानकारी दिए।
उनले लोकसेवा आयोगले सूचना नसाच्याए कडा भन्दा कडा आन्दोलन गर्नेसमेत चेतावनी दिए।
संविधानको मूल मर्म विपरीत निकालिएको सूचना समयमै सुधार गरी प्रकाशन गर्नुपर्ने उनीहरूको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।