प्युठान– सशस्त्र द्वन्द्वका कारण विस्थापित जिल्लाको एक प्रहरी चौकी २१ वर्षपछि स्थापना गरिएको छ।
विसं २०५५ मा स्थापना गर्नुपर्ने प्युठानको दाङबाङ प्रहरी चौकी २१ वर्षपछि बुधबार स्थापना गरिएको हो।
जिल्ला समन्वय समितिका उपप्रमुख पदम बहादुर थापा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले संयुक्त रूपमा चौकीको उद्घाटन गरेका हुन्।
चौकीमा ९ जनाको दरबन्दी भएपनि हाललाई एक जना प्रहरी सहायक निरीक्षकसहित ७ जना प्रहरी खटिएका छन्।
यससँगै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, प्रहरी बिट लगायत २८ वटा प्रहरी इकाइ पुगेका छन्।
प्रहरी बस्ने भवन गाउँपालिकाले उपलब्ध गराएको हो। दाङबाङका स्थानीयलाई यसअघि तीन घण्टा पैदल हिँडेर सोही गाउँपालिकाको बरौला प्रहरी चौकीबाट सेवा लिनुपर्ने बाध्यता थियो।
प्रमुख जिल्ला अधिकारी गैरेले स्थानीयवासीको माग र सुरक्षा संवेदनशीलताका आधारमा चौकी स्थापना गरिएको बताए।
प्रजिअ गैह्रेले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।