काठमाडौं- विवेक ओझा बादी समुदायमाथि केन्द्रित उपन्यास 'ऐलानी' लिएर आएका छन्।
आख्यानकार अमर न्यौपाने, समीक्षक कुमारी लामा र कवि प्रोल्लास सिन्धुलीयले शुक्रबार राजधानीको सर्वनाम थिएटरमा पुस्तकको विमोचन गरे।
पुस्तकमाथि बोल्दै आख्यानकार न्यौपानेले बादी महिलाको तीनपुस्ते चित्रण काव्यिक रुपमा आएको बताए। आन्तरिक चित्रण र पात्रको मनोविज्ञानमाथि सशक्त लेखन रहेको भन्दै उनले हरेक पात्रले भिन्नाभिन्नै कथा बोकेको चर्चा गरे। 'यो उपन्यास भोग र भोक अनि शरीर र सम्भोगको दर्शन हो,' उनले भने, 'आञ्चलिक भाषाको मिठासले पाठकलाई सन्तुष्टि दिन्छ। लेखक आदर्शको बोझबाट मुक्त छन्।'
अझै पनि बादी समुदायलाई स्विकार्न नसक्नु राज्य संरचनाकै दोष रहेको अर्की वक्ता लामाको भनाइ थियो। हजुरआमाको पालादेखि अहिलेसम्म धेरै परिवर्तन आए पनि नातिनी पुस्तासमेत यौन व्यवसायसँग जोडिनु दु:खद रहेको उनले बताइन्। 'मुख्य पात्र सशक्त छे। हरेक कुरामा बहस गर्न खोज्छे तथापि ऊ कमजोर रुपमा देखिएकी छे,' उनले भनिन्, 'बादी महिलाको पीडा र मनोविज्ञानलाई उपन्यासकारले मिहिन ढंगले खोतलेका छन्।'
कवि सिन्धुलीयले भने उपन्यासको शीर्षकलाई प्रतीकात्मक रुपमा बुझ्नुपर्ने धारणा राखे। सबैको ऐलानीका रुपमा रहँदै आएका बादी महिलाहरुको पीडामाथि सम्बोधन गर्न राज्यतहले पनि ध्यान दिनुपर्ने उनले बताए। सुदूरपश्चिमको आञ्चलिकताका साथै यौनमनोविश्लेषणलाई लेखकले सबल ढंगले प्रस्तुत गरेको सिन्धुलीयको भनाइ थियो।
उपन्यासकार ओझाले भने आफूले देखेको समाजकै सजीव चित्रण गर्न खोजेको प्रस्ट पारे। बादी समुदाय र त्यहाँका महिलाहरुलाई पहिलेदेखि नै अध्ययन गर्दै आएकाले उपन्यासले यो रुप लिएको उनले बताए। 'यहाँ सस्तो मूल्यमा बिक्न विवश बदिनीहरुको चित्र छ,' उनले भने, 'उपन्यासकारले समस्याको उठान मात्रै गर्ने हो। त्यसको समाधानका लागि पाठकहरु नै जागरुक हुनुपर्छ।'
उपन्यासलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।