ललितपुर नापीका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नमूना मच्छिन्द्र क्याम्पसका प्रमुख पनि मुछिए
नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 १७:२१:०० मा प्रकाशित

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिगत रुपमा नामसारी गर्ने ललितपुर नापी कार्यालयका तत्कालिन कार्यालय प्रमुख भरतसिंंह ऐर सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। 

नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख (नापी अधिकृत) भरतसिंह ऐर, तत्कालीन सर्भेक्षक केशव नाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेश कुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायण दास श्रेष्ठ विरुद्ध मुद्दा दायर गरिएको हो। 

नमूना मच्छिन्द्र क्याम्पस ललितपुरको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम रहेको कित्ता नम्बर ५८ को कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा मूल नक्सामा रहेको कित्ताको आकार, प्रकार परिवर्तन गरी छुट्टै फायल नक्सा बनाई सरकारी विद्यालयमा संचालित सामुदायिक क्याम्पसको ०-४-३-० क्षेत्रफलको जग्गा गैरकानूनी रुपमाक्षेत्रफल बढाउने काममा संलग्न रहेको भन्दै आयोगले मुद्दा दायर गरेको हो।

क्याम्पसको जग्गा व्यक्तिका नाममा गर्न ती व्यक्तिहरुको प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन आएकोले भन्दै अख्तियारले विषेश अदालतमा मुद्दा दायर गरेको हो। 

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार भरतसिंह ऐर, केशव नाथ कट्टेल, राजेश कुमार केसी र नारायण दास श्रेष्ठलाई सत्र लाख एकासी हजार दुई सय पचास रुपैयाँ बिगो कायम गरी हदैसम्मको कारबाही गर्ने भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

साथै जग्गाधनी मन्जुतारा शाक्यलाई पनि सत्र लाख एकासी हजार दुई सय पचास रुपैंया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरको मात्रा अनुसार हदैसम्मको कैद, सजाय र बिगोबमोजिमको जरिवानाको सजाय गर्न विशेष अदालत काठमाडौंमा आयोगले आरोपपत्र दायर गरेको छ।