राजविराज– सप्तरीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का एक एरिया इन्चार्जले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्।
सप्तरीको ३ नम्बर एरिया इन्चार्ज ‘रन्जित’ भन्ने तेजनारायण यादवले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गरी पार्टीबाट राजीनामा दिएका हुन्।
पार्टीसँग आफ्नो कुनै पनि सम्बन्ध नरहने गरी स्वतन्त्र नागरिक भएर जीवनयापन गर्ने उनको विज्ञप्तिमा उल्लेख छ।
२०७३ सालदेखि नेकपाको सदस्य रहेका यादव तत्कालीन नेकपा माओवादीको जनयुद्धमा समेत सक्रिय थिए।
उनी छिन्नमस्ता गाउँपालिका–१ निवासी हुन्।
पार्टीको आन्तरिक कलह र मधेश एवम् मधेशीलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले राजीनामा दिएको उनको विज्ञप्तिमा उल्लेख छ।
पार्टीको नेत्तृत्व तहले सरकारसँग वार्तामा जानुपर्ने संकेत गर्दै समझदारी र सहमतिबाटै सम्पूर्ण समस्याको समाधान खोज्नु राम्रो हुने उनले जनाएका छन्।
‘सरकारले लिएको वार्ता र संवादको नीतिले नै समस्याको हल निस्कन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, पार्टी वार्तामा नजानु देश र जनताका लागि घातक हुन्छ।’
पार्टीले सुरु गरेको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक हुने भन्दै यादवले असन्तुष्टि जनाएका छन्। हतियारले सबै समस्याको हल नहुने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।