काठमाडौँ- आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्तामा १ हजार रुपैयाँ बढाएर मासिक ३ हजार रुपैयाँ पुर्याएको छ।
प्रतिपक्षी काँग्रेसले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्ष पुर्याइनुपर्ने माग राख्दै आएको छ।
तर, अर्थमन्त्री डा. युवराज खतिवडाले भने नेपालीको औसत आयु बढिरहेको बेला वृद्धभत्ता पाउने उमेर घटाउन काँग्रेसले गरेको मागले आफू आश्चर्यचकित भएको धारणा राखेका छन्।
‘सामाजिक सुरक्षा भत्ताका विषयमा म धेरै बहस गर्न चाहन्नथेँ। तर धेरै बसहको कुरा यही भयो। २०५१ सालमा जब ७५ वर्ष पुगेका वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भत्ता १ सय रुपैयाँ दिने कुरा गरियो, त्यतिखेर सायदै यो ७५ वर्ष धेरै भयो भन्ने प्रश्न उठेको थियो,’ अर्थमन्त्री खतिवडाले भने।
‘जतिबेला हाम्रो नेपालीको औसत आयु ५९ वर्ष थियो त्यतिबेला हामीले ७५ वर्ष भनेका थियौं र त्यतिखेर श्रोतको सीमाको कारणले १ सय रुपैयाँ मासिक र ७५ वर्ष उमेर भन्यौं। त्यो बजेट निर्माणको म पनि एउटा अंग भएको कारणले मलाई राम्रोसँग सम्झना छ। हामीले ३०–३५ करोड रुपैयाँबाट त्यो कार्यक्रम सञ्चालन गरेका थियौं। त्यो गर्दाखेरी हामीले उमेरलाई बिस्तारै घटाउँदै लैजाउँला भनेरै ७५ वर्ष राखिएको हो। तर आज २५ वर्षपछि यो ६५ वर्ष ७० वर्ष वृद्धभत्ता पाउने उमेर र औसत आयुको विवाद हामी किन गर्दैछौं ? २०५१ सालमा गरिदिएको भए कति रमाईलो हुन्थ्यो। यो मैले बुझ्न सकेको छैन,’उनले भने।
‘दोश्रो कुरा, अहिले हाम्रो औसत आयु ५९ वर्षबाट ७१ वर्ष पुग्यो। औसत आयु बढ्दैछ। हामी वृद्धभत्ता पाउने उमेर घटाउने कुरा गर्दैछौं। यसमा थप बहस गरौं। मुलतः के हो भने सबै नागरिकले राज्यबाट सुविधा पाउनुपर्छ र सार्वकालिक सामाजिक सुरक्षाभत्ता हुन्छ भनेर त हामीले जीवनचक्रको कुरा गरेका छौं यहाँ। तर कुन उमेरमा के पाउने हो? त्यो बुझ्न जरुरी छ,’ अर्थमन्त्री खतिवडाकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।