आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण, मुद्रास्फीति ५ प्रतिशत

नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 १३:४५:०० मा प्रकाशित

काठमाडौं- विश्व बैंकले चालु आर्थिक वर्ष नेपालले ७ दशलमव १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ। 

काठमाडौंमा बुधबारदेखि सुरु भएको भुटान-नेपाल ह्युमन क्यापिटल फोरममा ‘नेपाल डेभलपमेन्ट अपडेड-२०१९’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०१९ मा नेपालले ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपणसहितको तथ्याङ्क सार्वजनिक गरेको हो। 

चालु आर्थिक वर्षमा सरकारले ८ प्रतिशत र आगामी आर्थिक वर्षका लागि ८ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सरकारले राखेको छ। तर केन्द्रीय तथ्याङ्क विभागले भने चालु आर्थि वर्षमा ५ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धिदर देखिने प्रक्षेपण गरेको छ। 

विश्व बैंकको तथ्याङ्अनुसार सन् २०१९ मा नेपालले ७ दशमलव १ प्रतिशत, २०२० मा ६ दशमलव ४ प्रतिशत र सन् २०२१ मा ५ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने देखिएको छ।

त्यसैगरी मुद्रास्फीतितर्फ चालु वर्षमा ५ प्रतिशत, आगामी आर्थिक वर्षमा ४ दशमलव ७ प्रतिशत र सन् २०२१ मा ५ प्रतिशत रहेने तथ्याङ्क विश्व बैंकले सार्वजनिक गरेको छ।