काठमाडौं– राष्ट्रियसभा गठन नगरी नयाँ सरकार निर्माण हुन नसक्ने संवैधानिक अड्चन खडा भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।
वाम गठवन्धनले बहुमत हासिल गरेपछि सरकार गठनका लागि राष्ट्रपति कार्यालयमा अड्केको राष्ट्रियसभा निर्वाचिन अध्यादेशले अवरोध गरेपछि अध्यक्ष ओली त्यसबारे छलफल गर्न शितल निवास पुगेका हुन्।
गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्पशछि ओली राष्ट्रपतिसँग छलफलका लागि पुगेका हुन्। संविधानको धारा ७८, ९५ आदिमा संघीय संसद दुई सदनात्मक हुने, दुवै सदनमा ३३ प्रतिशत महिला अनिवार्य चुनिनुपर्ने र दुवैसभाको पहिलो संयुक्त बैठक बस्नुपर्ने व्यवस्थाका कारण निर्वाचन आयोगले समानुपातिकतर्फको सांसद दलहरुले सिफारिस गर्न नपाउने भनेपछि ओलीले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष दाहालसँग छलफल गरेका थिए।
सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश पठाए पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैन। बिहीबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्न आग्रह गरेका थिए। ओलीले नै आग्रह गरेर यसअघि उक्त विधेयक राष्ट्रपतिले अध्ययनका लागि भन्दै रोकेर राखेकी थिइन्। तर, संविधानको व्यवस्थाले आफ्नै सरकार निर्माणमा समस्या हुने देखेपछि यो अप्ठ्यारो फुकाउनेबारे छलफल गर्न ओलीले राष्ट्रपतिसँग भेट गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।