काठमाडौं– कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त भनी बारेन्ट जारी भए पनि फरार रहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभामा निर्वाचन रेशम चौधरीले बारेस मार्फत विजयी भएको प्रमाणपत्र लिन नपाउने भएका छन्।
सर्वोच्च अदालत प्रशासनले कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘बारेन्ट नोटिस’ जारी भएको व्यक्तिले बारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाई गर्न नसकिने भन्दै रिट नै दर्ता गर्न अस्वीकार गरेपछि चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र नपाउने भएका हुन्।
फरार रहँदाकै अवस्थामा वारेसनामा मार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि चौधरीले रञ्जिता चौधरीलाई बारेस दिँदै प्रमाणपत्र लिन पठाएका थिए। तर, जिल्ला निर्वाचन कार्यालयले आफैं उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो। निर्वाचन कार्यालयले निर्वाचित भएको व्यक्ति कर्तव्य ज्यान मुद्दामा आरोप लागेको भन्दै निर्वाचन आयोगमा प्रमाणपत्र पठाएको थियो।
केन्द्रीय निर्वाचन कार्यालयमा प्रमाणपत्र आएपछि चौधरीले सर्वोच्चमा बारेस मार्फत् रिट दर्ता गराउन ल्याएका थिए। तर, सर्वोच्च प्रशासनले अदालतको प्रक्रिया नै स्वीकार नगरेका चौधरीलाई बारेस मार्फत प्रमाणपत्र दिन माग गरिएको रिट दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरेको हो। मुख्य रजिस्ट्रार नकुल सुवेदीले मुलुकी ऐनको व्यवस्था अन्तर्गत दर्ता भएको मुद्दालाई स्वीकार नगरेका कारण चौधरीलाई बारेस मार्फत प्रमाणपत्र दिने निवेदन दर्ता नहुने कारण देखाउँदै दरपीठ गरेका हुन्।
मुख्य रजिस्ट्रार सुबेदीले दरपीठ गरेको आदेशमा भनिएको छ, ‘कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग लगायतमा अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दालाई स्वीकार गरी अदालत उपस्थित समेत नभएको व्यक्तिको हकमा सर्वोच्चमा निवेदन दर्ता गर्न मिल्ने देखिँदैन।’ २०७२ भदौ २७ मा थारुहट आन्दोलनमाका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो।
राजपाबाट उम्मेदवार बनेका चौधरीले कैलाली क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार गरिमा शाहलाई २१ हजार मतान्तरले पराजित गर्दै निर्वाचिन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।