बाँदरमुढे घटनाको १४ वर्ष : कता हरायो चुनावअघि प्रचण्डले पीडितसँग गरेको सहमति?

सहमतिका हस्ताक्षरकर्ताकै गुनासो- म आफैं दुरुपयोग भएँ
दुर्गा दुलाल | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 ११:४०:०० मा प्रकाशित

काठमाडौं- २०६२ जेठ २३, चितवनको गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि छुटेको यात्रुबाहक बसमा तत्कालीन विद्रोही नेकपा (माओवादी)ले बाँदरमुढेमा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटनामा घाइते भएका ७२ मध्ये ४ जनाको उपचारका क्रममा निधन भएको थियो। घटना गराउने नेकपा (माओवादी) युद्धपछि शान्ति प्रक्रियामा सामेल हुँदै मुलधारको राजनीतिमा आइसकेको छ। माओवादी विभिन्न दलमा विभाजित हुँदै र जोडिँदै अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ। तर, १४ वर्ष बितिसक्दा समेत उक्त घटनाबारे सत्य-तथ्य छानबिन भई दोषीले सजाय पाएकै छैनन्।

प्रचण्डले बिर्सेको सहमति

पूर्व माओवादीका अध्यक्ष एवं हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत निर्वाचनको समयमा बाँदरमुढे घटना 'जनयुद्ध'मा भएको सबैभन्दा ठूलो गल्ती भन्दै बाँदरमुढेका जनतासँग माफी मागेका थिए। उनले घटनास्थलमा बनाइएको स्मारकमै पुगी आफ्नो सरकार बने लगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा गरे। साथै आफ्ना पार्टी निकट मृतकका परिवार, घाइते तथा कार्यकर्ताको भेला डाकी २०७४ मंसिर १७ गते ३ बुँदे सहमति पनि गरे।

दाहालको उक्त सहमतिपछि पीडितहरु दुई धारमा विभाजित भए। उनले न्याय र पीडितलाई परिपूरण दिने कुरा लिखित प्रतिबद्धतामै उल्लेख गरे। तर, उनले निर्वाचन जितेर काठमाडौं आएको पनि १८ महिना बितिसकेको छ। उनी नै अध्यक्ष रहेको नेकपा सरकारमा छ। उनी पटक-पटक चितवन पुगेका पनि छन्। तर, उनले यसबीचमा न बाँदरमुढेलाई सम्झिए, नत मृतकका परिवार तथा घाइतेलाइ नै।

यसैबीच, २०७४ माघ ११ मा तत्कालीन शेरबहादुर देउवा सरकारले बाँदरमुढे घटनामा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्‍यो। तर, सहिद मात्र नभई उक्त घटनाका दोषीलाई सजाय दिने र पीडित परिवारलाई न्याय दिने कुरा हालसम्म नभएको बाँदरमुढे घटना पीडित संर्घष समितिका उपाध्यक्ष कृष्ण अधिकारी बताउँछन्।

सहमतिका हस्ताक्षरकर्ताकै गुनासो- म आफैं दुरुपयोग भएँ

निर्वाचनताका प्रचण्डको सहमतिमा सहभागी भएका एक पीडित सुदीप निउरेले उक्त घटनामा ज्यान गुमाएकी आफ्नी दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई सम्झिँदै माओवादीले धोका दिएको बताए।

‘जुन माओवादीको समूहले पीडित र माओवादीको केन्द्रीय तहबीच सिधा वास्तविक कुरा राख्न १३ वर्षदेखि रोकेको थियो, अहिले फेरि उही समूह सक्रिय छ,’ उनले सामाजिक सञ्चालमा समेत लेखेका छन्, ‘निर्वाचनको समयमा सहमति गराउने प्रयास गरेकोमा म आफू दुरुपयोग भएको अनुभव भएको छ।’

उपाध्यक्ष अधिकारीले सर्वसाधारण चढेको बसमा विस्फोट गराई सामूहिक हत्या गराउनेको पहिचान गरियोस् र उनीहरूमाथि कानुनी कारबाही होस् भनी आफूहरुले सामूहिक रुपमा काठमाडौंमा दिएको उजुरी बेवारिसे भएको गुनासो गरे। युद्धमा सहभागी नभएका सर्वसाधारणलाई किन मारिएको हो, त्यसको सत्य जान्न पाऊँ भन्दाभन्दै यत्तिका वर्ष बितेको तर पनि केही नपाएको उनले गुनासो गरे।

घटनाका आरोपी नै शान्ति समितिमा!

सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी दर्ता गराएका थिए।

पीडितको उजुरीमा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, वनमन्त्री शक्ति बस्नेतलगायत तत्कालीन नेतृत्व र चितवनका नेतालाई कारबाही माग गरिएको थियाे।

बम विस्फोटमा संलग्न भएको आरोप लागेका अनक मगर स्वयम् नै शान्ति समितिमा सदस्य हुनेदेखि पार्टीको पहुँचको स्थानमा रहेको भन्दै विभिन्न समयमा सहमति र माफी मागेर माओवादीले नाटक गर्दै पीडितलाई धोकामा राख्ने गरेको पीडितहरुले बताउँदै आएका छन्।

घटनाको समय चितवन जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल 'अविनास' शान्ति समिति सदस्य भएका थिए। तर, पीडितहरुको विरोधपछि उनले राजीनामा दिएका थिए। त्यसपछि सदस्य बनेका मगरमाथि पनि विस्फोट कार्यमै संलग्न भएको आरोप छ।

चितवन क्षेत्र नम्बर २ 'क'मा बाम गठबन्धनबाट अविनास विजयी हुँदै हाल प्रदेशसभा सदस्यको भूमिकामा छन्।

कसरी गराइएको थियो घटना?

२०६२ जेठ २३ को बिहान भिख्नाठोरीबाट छुटेको शालीग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १ सय २० यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध बसभित्र थिए भने करिब ५०-६० को हाराहारीमा यात्रु छतमा थिए। २१ वर्षीय विक्रम महतोले चलाएको उक्त बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धरापमा परेको थियो।

गाडीको छतमा ३ जना बर्दीधारी सैनिक बसेका थिए, बाँकी सबै सर्वसाधारण थिए। त्यतिबेला चितवनका जिल्ला इन्चार्ज अविनाश (घनश्याम दाहाल) र सेक्रेटरी इन्द्रजित (यमबहादुर परियार) ले गलत आँकलन गरी विस्फोट गराएको माओवादीले समेत स्वीकार गर्दै आएको छ।

गुडिरहेको गाडीमा विस्फोट गराएर एक/दुई जनाको मात्र सफाया गर्ने र बाँकी सकुशल रहने प्रविधिको विकास संसारमा कहीँ नभएकाले त्यसलाई स्वीकार गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माओवादीले सहयोग गर्नुपर्ने तर्क मानवअधिकारवादीले गर्दै आएका छन्। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनविपरीत माडीमा बम विस्फोट गराइएकाले दोषीले उन्मुक्ति पाउन नहुने अधिकारकर्मीहरुको तर्क छ।

पीडित भन्छन् : न्याय माग्नु पर्ने हामी आफैंलाई विभाजित बनाइयो

बाँदरमुढे घटनाका पीडितहरु हाल दुई भागमा विभाजित छन्। नेकपा र गैह्र-नेकपा हुँदै उनीहरु एक आपसमा लडिरहेका छन्। बाँदरमुढे संर्घष समितिका तत्कालीन पदाधिकारी पनि अहिले दुई खेमामा विभाजित छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदार भएपछि यस्तो विभाजन देखिएको हो। तत्कालीन संर्घष समितिका उपाध्यक्ष कृष्ण अधिकारी हाल निष्क्रिय छन्।

दाहालले आफू विजयी भएमा बाँदरमुढे पीडितलाई न्याय दिने सहमति नै गरेका थिए। ‘बाँदरमुढे घटना चुनावी प्रलोभनको शिकारमा परेको रहस्य अहिले खुल्दैछ,’ अधिकारीले भने, ‘सवै शक्तिको पुजारी हुने रहेछन्। हिजो बोल्नेहरु आज शक्तिको प्रभावमा मौन बसेपछि यो मुद्दा ओझेलमा परेको छ।’

तत्कालीन पदाधिकारीहरु मुक्तिनाथ न्यौपाने, राधेश्याम भण्डारीलगायत अभियान्ताहरु दाहालको पक्षमा लागे। तर, अहिले उनीहरुले पनि गल्ती महशुस गरिरहेको दाबी अधिकारीको छ। ‘मुख्य कुरा हामी बीचमै एकता भाँडियो,’ उनी भन्छन्, ‘न्याय माग्न एकजुट हुनुपर्ने हामीलाई विभाजित गराइयो र पीडकहरुले न्याय नदिने प्रयास गरेका छन्।’

तत्काल परिपूरण स्वीकार गराएर न्यायको माग निस्तेज गराउने दाउमा सरकार लागिरहेको उनको आरोप छ। ‘अहिले नै परिपूरण लिने की ५० वर्षपछि न्याय लिने भन्ने खालको हल्ला फैलाएर पीडितमाझ त्रास सिर्जना गर्ने काम अहिले भइरहेको छ,’ उनले भने।