भक्तपुर- भक्तपुर दुधपाटीबाट तीव्र गतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नम्बरको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
दुर्घटनामा गुल्मी घर भई हाल नयाँ बानेश्वर बस्ने २३ वर्षीय गाडी चालक राजन कुँवर, चालकको सिटसँगै बस्ने गुल्मी घर भई हाल कोटेश्वर बस्ने २४ वर्षीय सुन्दर बस्याल, २० वर्षीय रिसव खत्री र २० वर्षीय अमन केसी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।
घाइते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै सैनिक आवासीय माविका सैनिकले घाइतेको उद्धार गरेका थिए।
घाइतेमध्ये सुन्दरलाई गम्भीर चोट लागेको छ। सुन्दरको निधारलगायतका शरीरका अन्य भागमा समेत चोट लागेको छ। स्कार्पियो अगाडिको भागले च्यापिएकुा सुन्दरलाई निकाल्न ढोका नै निकाल्नुपरेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले बताए।
तीव्र गतिमा रहेको स्कार्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा२ज २७८९ नम्बरको ट्याक्सीलाई समेत ठक्कर दिँदा ट्याक्सीको अगाडिको भागमा सामान्य क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।