काठमाडौं- सगरमाथा सफाई अभियानले सगरमाथाको साउथकोलमा संकलन गरेको फोहोर प्रतिकूल मौसमका कारण ल्याउन नसकेको स्पष्टीकरण दिएको छ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले अभियानले सगरमाथाको साउथकोलमा जम्मा गरेको फोहोर हिउँका कारण ल्याउन नसकिएको जानकारी दिएको हो। सगरमाथा सफाईमा गत बैसाख १ गतेदेखि गएको सो टोलीले साउथकोलमा फोहोर संकलन गरेपनि हिउँ परेका कारण ल्याउन नसकेको पर्यटन विभागको भनाइ छ।
विभागका महानिर्देशक घिमिरेले सबैभन्दा बढी फोहोर भएको दोस्रो आधार शिविर सफाई गरिएको पनि बताए।

अभियानले हालसम्म ११ हजार केजी सड्ने फोहोर संकलन गरि स्थानीय रुपमै व्यवस्था गरिएको जनाएको छ। त्यसैगरी १ हजार केजी नसड्ने फोहोर भने काठमाडौं ल्याएर त्यसको उचित व्यवस्थापनका लागि ‘ब्ल्यू ओस्ट टू भ्यालू’ नामक संस्थालाई हस्तान्तरण गरिएको पनि महानिर्देशक घिमिरेले जानकारी दिए।
सो अभियानको नेतृत्व खुम्बु पासाङ ल्हामू गाउँपालिकाले गरेको छ। अभियानका क्रममा संकलन गरिएको ४ वटा शव काठमाडौं ल्याइएको र त्यसको पहिचानको काम भइरहेको पनि विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।