काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले फोहोर जथाभावी फाल्ने संस्कृतिको अन्त्यका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन्।
महानगरले यहाँ आयोजना गरेको ४५औँ विश्व वातावरण दिवसका अवसरका बुधबार उनले एकाथरि सुधारको प्रयासमा लाग्ने अर्काथरि निष्फिक्री जथाभावी फोहोर बाहिर निकाल्ने अवस्था रहेकाले कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले राम्रो काम गर्ने निजी क्षेत्रलाई प्रवर्द्धन गर्न सके परिणाम ल्याउन सजिलो हुने धारणा राखे।
वडा नम्बर १२ का वडाध्यक्ष विकास डङ्गोलले प्रतिफल आउने गरी फोहोरमा लगानी व्यवस्थापन गर्ने बताए। वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले घरेलु फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रले पुर्याएको योगदानलाई संस्थागत गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रमुख शाक्यले परिवर्तन सेवा प्रालिले तयार पारेको पुस्तक 'परिवर्तन सन्देश' सार्वजनिक गरेका थिए। पुस्तकमा फोहोर व्यवस्थापनका सम्भावना र चुनौतीलाई क्षेत्रगत आयामबाट चित्रण गरिएका लेख समावेश छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।