सिरहा- विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलान खोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन्। बलान खोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ।
सो स्थानमा विशेषगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन्। स्थानीय ललीत गुप्ताले २० वटासम्म गिद्ध गनेको बताए। उनले भने, 'मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो दिन २० थिए। गिद्ध देखेपछि हेर्न स्थानीयवासीको घुइँचो लाग्ने गरेको स्थानीय भगवतीप्रसाद पासवानले बताए।
नेपालमा ८ प्रजातिका गिद्ध पाइन्छन्। तीमध्ये ४ प्रजातिका अति लोपोन्मुखको सूचीमा रहेका कुशहास्थित मसिलाल जनता उच्च माध्यमिक विद्यालयका प्रार्चाय हंसनारायण मेहताले बताए। उनका अनुसार डङ्गर, सानो खैरो, सुनगिद्ध र सेतोगिद्ध अति लोपोन्मुखको सूचीमा छन्। यी प्रजातिका गिद्धलाई एसियामै अति लोपोन्मुखको सूचीमा रखिएको बताइएको छ। अहिले नेपालमा हिमाली, खैरो राज र हाडफोड प्रजातिका गिद्ध बढी पाइन्छन्।
यी प्रजातिका गिद्धको तथ्याङ्क यकिन नभएको मेहताले बताए। उनले भने, 'बलानखोलामा देखिएका गिद्ध हिमाली र खैरो हुन सक्दछन्। हिउँदको समयमा हिमाली क्षेत्रमा बढी चिसोले गर्दा बसाइँ सरी तराई क्षेत्रमा आएका र खैरो गिद्ध चाहिँ सबै क्षेत्रमा पाइने गर्दछ।' एसियामै अति लोपोन्मुखको सूचीमा रहेको डङ्गर गिद्ध नेपालमा एक हजार जोडीको हाराहरीमा रहेका प्राचार्य मेहताले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।