काठमाडौं- एआइजी जयबहादुर चन्दको रिटमाथिको सुनुवाइ पर सरेको छ। नेपाल प्रहरीको महानिरीक्षक पदमा सिफारिस भएलगत्तै सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पद सम्हाल्न नपाएपछि चन्दले गत भदौमा रिट हालेका थिए।
उक्त रिट न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र वमकुमार श्रेष्ठको इजलाशमा आज पेशी तोकिएको थियो। तर 'हेर्न नमिल्ने' सूचीमा राखेर सुनुवाइ मिति सारिएको हो।
प्रहरी प्रमुख आफै हुनुपर्ने दाबी गर्दै नकक्ली कार्यसम्पादन मूल्यांकन सर्वोच्चमा पेश गरेको ठहर गर्दै अनुसन्धान गरी कारबाही गर्न प्रतिस्पर्धी नवराज सिलवालको नाममा परमादेशको फैसलाको पूर्णपाठ सार्वजनिक भएको भोलिपल्ट चन्दको मुद्दा पेशीमा चढाइको भए पनि सुनुवाइ हुन सकेन।

प्रतिस्पर्धीहरु सिलवाल र प्रकाश अर्यालले हालेको रिटमा एकै पटक फैसला भए पनि चन्दले हालेको रिट सर्वोच्चमा बाँकी राखिएको थियो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फागुन १ गते चन्दलाई प्रहरी प्रमुखको रुपमा मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेका थिए। सोही दिन सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। फुली लगाउनै नपाई सर्वोच्चले रोक लगाए पनि आइजिपी विवाद सम्बन्धी चार थान रिट सर्वोच्चमा दर्ता भएको थियो।
चन्दले २०७४ भदौ १४ गते सर्वोच्चमा रिट हालेका थिए। अदालतले तत्कालीन डिआइजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णयलाई सदर गर्ने २०७४ भदौ २७ गते फैसला सुनाएको थियो।
रिटमा प्रहरी प्रमुख नियुक्तिको अधिकार नितान्त सरकारको अधिकार भएकोले आफ्नो सिफारिस सदर हुनुपर्ने र अर्यालयको नियुक्ति बदर हुनुपर्ने माग गरिएको छ। कार्यसम्पादन मूल्यांकनका आधारमा मात्रै प्रहरी प्रमुख नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था नभएको जिकिर रिटमा गरिएको छ। यसअघि सिलवालको मुद्दामा पनि कासमूको आधारमा अर्यालको नियुक्ति सदर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।