डडेल्धुरा– अमरगढी नगरपालिकाले पानीको मुहान नजिकै डम्पिङ साइट बनाएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्।
७ नम्बर वडाको कुयलीमा रहेको गुनेइगाडनजिकै डम्पिङ साइट बनाएर फोहोर फाल्न थालेपछि स्थानीयले विरोध जनाएका हुन्।
स्थानीयको निजी जमिन भाडामा लिइ नगरपालिकाले बजार क्षेत्रमा संकलन हुने फोहोर फाल्न थालेपछि खोलाको पानी र वरिपरिको वातावरण नै दुर्गन्धित हुन थालेकाले त्यहाँ फोहर फाल्न बन्द गर्नुपर्ने स्थानीय राम भण्डारीले बताए।
डम्पिङ साइट हटाउन नगरपालिकासँग पटक–पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि आफूहरू आन्दोलन गर्ने तयारीमा रहेको समेत स्थानीय बासिन्दाले बताए।
नगरपालिकाले बजार क्षेत्रमा संकलन हुने फोहोर गुनेईगाडमा फाल्छ, जहाँको पानी सोही नगरबासीदेखि लिएर अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकाका धेरैले गाइवस्तु, लुगा कपडा धुन र नुहाउनका लागि प्रयोग गर्ने गरेका छन्।
डम्पिङ साइटका कारण रातको समयमा जंगली जनावरको जोखिम पनि बढेको स्थानीयको गुनासो छ। फोहोरमा स्याल, बँदेल लगायतका जीव आउँदा त्यही बाटो भएर ओहरदोहोर गर्न समस्या हुने गरेको उनीहरू बताउँछन्।
नगरप्रमुख विश्वेश्वर प्रसाद ओझा भने डम्पिङ साइट निर्माणका लागि जमिन खोजिरहेको र नगरले सूचना पनि जारी गरेको बताउँछन्।
नगरपालिकाको बजार क्षेत्रमा बढ्दै गएको बसोबासका कारण फोहोर व्यवस्थापन पहिलो चुनौती रहेको मेयरको भनाइ छ।
‘पहिलाको डम्पिङ साइटमा स्थानीयले फोहोर फाल्नका लागि अवरोध गरेपछि अस्थायी रुपमा कुयलीमा राखेको हौँ। अब स्थायी ठाउँका लागि जमिनको खोजी गरिरहेका छौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।