भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले जेष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ।
विशेषज्ञ चिकित्सकहरुको टोलीसहित नगरपालिकाले घरघरमा पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन सुरु गरेको हो।
नगरभित्र बसोबास गर्ने ८५ वर्ष पुगेका जेष्ठ नागरिकको सम्मान गर्ने र उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित सेवा सुरु गरिएको हो।
सोमबारबाट सुरु भएको स्वास्थ्य सेवा पहिलो दिन नगरका ३ वडामा दिइएको छ । जनप्रतिनिधि आएसँगै जेष्ठ नागरिकलाई सम्मान गर्ने र कुनै कारणले अस्पतालसम्म जान नसक्ने भए उनीहरुलाई घरमै सहज सेवा दिने उद्देश्यले सेवा सुरु गरिएको उपप्रमुख उमा काफ्लेले बताइन्।
नगरपालिकाले थालेको जेष्ठ नागरिक उपचार सेवामा भैरहवाको युनिभर्सल मेडिकल कलेजले प्राविधिक सहयोग गरेको छ। पहिलो दिन नगरको वडा नं. २, १० र ११ का जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिइएको छ। चेकजाँचका क्रममा अधिकांश जेष्ठ नागरिकमा सामान्य समस्या देखिएको चिकित्सकले बताएका छन्। केहीमा ग्यास्ट्रिक तथा मोतियाविन्दुको समस्या समेत देखिएको स्वास्थ सेवामा सहभागि युनिभर्सल मेडिकल कलेजका चिकित्सक डा. सुमनराज सापकोटाले बताए।
नगरपालिकाका अनुसार जेष्ठ नागरिकको घरमै पुगेर सुगर, ब्लड प्रेसर, सामान्य चेकजाँच लगायत चेकजाँच गरिएको हो। समस्या देखिएका जेष्ठ नागरिकलाई निःशुल्क औषधी समेत वितरण गरिएको छ र उनीहरुको उपचारमा थप सहयोग पुगोस् भनेर नगद ३ हजार ५ सय समेत सहयोग गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए।
पहिलो दिन २१ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको छ। नगरभित्र १ सय ८७ जना ८५ वर्ष पुगेका जेष्ठ नागरिक छन्। जेकजाँचका क्रममा थप उपचार गर्नु पर्ने भए जेष्ठ नागरिकलाई भैरहवा मेडिकल कलेजमा २० प्रतिशत छुटमा उपचार गरिने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले जनाए।
स्वास्थ्य सेवा एक हप्तासम्म चल्नेछ। स्वास्थ्य सेवा दिन चिकित्सक टोलीसहित नगर प्रमुख, उपप्रमुख, वरिष्ठ लेखा अधिकृत गणेशबहादुर क्षेत्री, वडानम्बर २ का अध्यक्ष दीपक कुमार थापा, १० का विजयनाथ धवल, ११ का दिलिपकुमार यादव, सामाजिक विकास अधिकृत यादवप्रसाद सापकोटो लगायत जेष्ठ नागरिकको घरघरमा पुगेका थिए।
मेडिकल कलेजबाट २ सदस्यीय चिकित्सक टोली खटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।