फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन्।
काठमाडौं महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैँले बनाउनुपर्नेमा जोड दिए।
२०७२ साल फागुन ४ गते भत्किएको धरहराको फेदमा गएर मै बनाउँछु मेरो धरहरा भनेको स्मरण गर्दै उनले भने, 'मेरो देश मै बनाउँछु भन्ने अठोट नलिएका कारण अहिलेसम्म देश नबनेको हो।'
प्रधानमन्त्री ओलीले काठमाडौँबासीले काठमाडौँ म बनाउँछु भन्ने बुझेर व्यवहारमा कार्यान्वयन गरे राजधानी बन्ने विश्वास व्यक्त गरे।
महानगरले आयोजना गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धामा सहभागी भएका युवाहरुलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हिम्मत र अठोट भए काम र अवसरका लागि विदेश जानु नपर्ने उल्लेख गरे। नेपालमा प्रशस्त संभावना भएकाले हिम्मत, इच्छाशक्ति र नविन सोचका साथ देश बनाउने अभियानमा लाग्न उनले सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।