इन्सपेक्टरले नक्कली अपराधी अदालत पेस गरेपछि अख्तियारको फन्दामा, १० लाख घुस लिएको आरोप  

नेपाल लाइभ | २०७६ जेठ २२ बुधबार | Wednesday, June 05, 2019 १६:०२:०० मा प्रकाशित

काठमाडौं– सवारी ज्यान मुद्दामा नक्कली अभियुक्त खडा गरी घुस खाएको आरोप लागेपछि इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसी मंगलबार पक्राउ परेका छन्। 

१० लाख रुपैयाँ घुस खाएर नक्कली चालक खडा गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।

आयोगको केन्द्रीय टोलीले उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।

जिसीविरुद्ध अख्तियारमा १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दाका चालक नै परिवर्तन गरेको उजुरी परेपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। 

गैंडाकोटमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु र अर्का गम्भीर घाइते भएपछि जिसीले घटनामा संलग्न चालक नै फेरेर मुद्दा बिगारे घुस लिएपछि अख्तियारमा उजुरी परेको थियो। घटनाबारे जिसीले पीडितपक्षलाई हप्कीदप्की गरेर धम्की पनि दिएको अख्तियारको उजुरीमा उल्लेख  छ।

गत बैसाख ११ मा बोधराज पाण्डेले हाँकिरहेको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते र अर्काको एकको निधन भएको थियो।

रातको ११ बजे भएको उक्त घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले घुस लिएर बदमासी गरेको अख्तियारको उजुरीमा उल्लेख छ।

प्रहरी निरीक्षक जिसीले मोटरसाइकलको पछाडि बसेकी महिलाको मृत्यु भएको घटनामा संलग्न पाण्डेको सट्टा किसुन महतोलाई नक्कली चालक बनाएर अदालतमा लगेका थिए।

पाण्डे परिवारले प्रहरी निरीक्षक जिसीलाई नक्कली पीडित बनाउन रकम दिएको उजुरी अख्तियारमा परेको थियो ।