काठमाडौं- सार्क युवा वैज्ञानिकहरुको सम्मेलन नेपालमा सूरु भएको छ।
प्रदेश ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सो सम्मेलनको शुभारम्भ गरिएको हो।
सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो सम्मेलनको उद्घाटन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी हटाउने गरी विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न युवा वैज्ञानिकहरुलाई आह्वान गरे।
उनले सरकारले विज्ञान र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै सोही अनुसारको वैज्ञानिक खोज तथा अनुसन्धानमा लाग्नुपर्नेमा पनि जोड दिए। नेता नेपालले जमिन, पानी र वन क्षेत्रको उचित परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।
२ दिनसम्म चल्ने सम्मेलनमा सार्क सदस्य राष्ट्रबाहेक जर्मनी, बेलायत, फिनल्याण्डसहितका देशका युवा वैज्ञानिकहरु पनि सहभागी भएका छन्। सम्मेलनमा १६ जना अन्तर्राष्ट्रिय युवा वैज्ञानिकहरुको कार्यपत्र प्रस्तुत हुनेछ।
त्यसैगरी नेपालका ३५ जना युवा वैज्ञानिकहरुले पनि विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित भएर आफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।