धनगढी- यातायात क्षेत्रमा भएको सिण्डिकेट प्रणाली अन्त्य गर्न भन्दै नेपाल सरकारले कम्पनीमा दर्ता हुन तोकेको अन्तिम समयसीमासम्म सुदूरपश्चिम प्रदेशका १४ वटा मात्रै यातायात समितिहरु कम्पनीमा दर्ता भएका छन्।
गत आइतबारसम्म तोकिएको समयसीमाभित्र प्रदेशमा रहेका १४ यातायात समिति मात्र कम्पनीमा दर्ता भएका हुन्। सुदूरपश्चिम प्रदेशमा झन्डै ५ दर्जन यातायात समिति रहेका छन्।
यातायात क्षेत्रको सिण्डिकेट हटाउन सरकार गठन भएको केही महिनाबाटै अभियान थालेको संघीय सरकारले व्यवसायीहरुको अनुरोधमा आइतबारका लागि अन्तिम समयसीमा तोकेको थियो।
सुदूरपश्चिम प्रदेशमा मालिका यातायात प्रालि सबैभन्दा पहिले कम्पनीमा दर्ता भएको यातायात कम्पनी हो। यसपछि गोदावरी यातायात प्रालि, फूलबारी यातायात प्रालि कम्पनीका रुपमा दर्ता भएका थिए।
यातायात व्यवस्था कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशको चर्चित यातायात समिति सुदूरपश्चिम यातायात व्यवसायी संघ र कर्णाली रिभरसाइड बस समिति पनि कम्पनीअन्तर्गत आएका छन्। त्यस्तै, कञ्चनपुरका महाकाली सेती बस समिति, पवनदूत बस समिति, फेसबुक यातायातलगायत पनि कम्पनीमा दर्ता भएका छन्।
डोटीमा सुन्दर सुदूरपश्चिम यातायात प्रालि र शैलेश्वरी यातायात प्रालिले पनि आफूलाई कम्पनीअन्तर्गत नै ल्याएका छन्।
१४ कम्पनी दर्ता भए पनि अझै केही समितिहरु दर्ता हुन नमानेको यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख गम्भीर विष्टले जानकारी दिए।
सुदुरपश्चिमसहित देशभर रहेका ठूला तथा साना यातायात समितिहरुलाई कम्पनीमा दर्ता गर्ने समयसीमा भने सकिएको छ। समय अवधि एक वर्षभन्दा पनि बढी राखेर कम्पनीमा दर्ता हुन भनिएकोमा अटेर गर्ने समितिका गाडीहरु बुधबारदेखि सडकमा गुड्न नदिइने यातायात व्यवस्था कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।