काठमाडौंस्थित जामे मस्जिदमा बुधबार बिहान नमाज पढ्नका लागि भेला भएका इस्लाम धर्मावलम्बीहरु।
काठमाडौं- मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन्।
आत्मशुद्धिका लागि एक महिनासम्म मनाइएको रमदान पर्व सकिनु अघिल्लो दिन चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो। यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नुका साथै गरीबलाई दान दिने गर्दछन्।
इदका अवसरमा आज काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका मस्जिदमा भेला भई मुसलमान समुदायले नमाज पढिरहेका छन् भने एकअर्कामा शुभकामना समेत साटासा६ गरिरहेका छन्। काठमाडौंको जामे मस्जिद, पोखरा–१३ स्थित पुरानो इदगाहका साथै चिप्लेढुङ्गा र पृथ्वीचोकमा अवस्थित इदगाह, नेपालगञ्ज तथा विराटनगरलगायत मुस्लिम बाहुल्य रहेका क्षेत्रहरुमा स्थानीय मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरिरहेका छन्।
मुस्लिम धर्मगुरु हनिफ मियाँ भन्छन्, 'यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिन्छ। 'इद'को अर्थ 'उत्सव' र 'मुवारक'को अर्थ 'धन्य' भएकाले 'इद उलफित्र' पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन्।'
आपसी भातृत्व र खुसीयाली साटासाटको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देवता 'अल्लाह'प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन्।
यस पर्वमा एकअर्कालाई उपहार दिनुका साथै सेवइलगायत परिकार पकाएर खाने गरिन्छ। यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।