–राजकुमार पराजुली/रासस
काभ्रेपलाञ्चोक- आजकाल हुरीबतास चल्न र पानी पर्न थालेपछि चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ। जस्तापाताले घेरेको, जस्तापाताले नै छाएको, त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि! पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा टहरोभित्रै थाप्नुपर्ने अर्को पीडा पनि छ उनलाई। साथमा रहेका अवोध दुई छोरीलाई च्यापेर बस्नुपर्ने बाध्यताले छोडेको छैन बनेपा नगरपालिका–७ झापालीटोलकी ४६ वर्षीया मानन्धरलाई।
जन्मजात शारीरिक अपाङ्गता र सुस्त मनिस्थितिकी १२ वर्षकी उनकी जेठी छोरी रमिलाको गत आइतबार भएको निधनले उनमा अर्को पीडा थपिएको छ। रमिला राम्रोसँग हिँड्न र बोल्न सक्दिनथिन्। सोमबार उनलाई दागबत्ती दिएपछि चन्द्रमाया सोही टहरोमा किरिया बसिरहेकी छिन्। यसअघि उनी भूकम्पले भत्किएको भग्नावशेषमा आफ्नी अपाङ्गता भएकी छोरीलाई रुँदै खाना खुवाइरहेको अवस्थामा भेटिएकी थिइन्।
बनेपा सहरको बीच भागमा वरिपरि अग्ला पक्की घरले घेरिएको तीनधारा गल्लीमा चन्द्रमायाको 'असुरक्षित' टहरो छ। कान्छी छोरी प्रमिला जन्मिनु तीन दिनअघि मात्रै पति रामभक्तको पनि मृत्यु भएकाले उनीलाई सहारा दिने भरपर्दो आड अब नरेहेको लाग्दोरहेछ।
अपाङ्गता भएकी छोरीलाई जसोतसो हुर्काइरहेकी चन्द्रमायालाई श्रीमान् बितेकै बखत सुत्केरी बन्नुपरेको बाध्यता थियो। जसोतसो दुई छोरी हुर्काउँदै गर्दा २०७२ बैसाख १२ को भूकम्पले मानन्धर परिवारमा अर्को बज्रपात पार्यो। हेर्दाहेर्दै उनकै आँखा अगाडि ३ तले घर ढल्यो। रमिला र प्रमिलालाई च्यापेर घिस्रिँदै ३ वटा प्राण बचाउनु पर्दाको घटना सम्झिँदा चन्द्रमायालाई भक्कानो छुट्छ।
'भूकम्पले त्यही सबैको प्राणपखेरु छिनाइदिएको भए यसरी दुःखमाथि दुःख त झेल्नु पर्दैनथ्यो,' रोदन मिश्रित स्वरमा चन्द्रमायाले भनिन्। भूकम्पपछिका प्रत्येक दिनका पीडाका साथै गाँस र बासको अभावका बीचमा एक छोरीलाई हुर्काउनुपर्ने बाध्यताले पिरोलेको छ उनलाई। छोरी प्रमिलालाई आवसीय रुपमै कुनै विद्यालयमा राख्न पाए आफूले एक पेट दुखजिलो गरेर खान सक्थेँ भन्ने उनको चाहना छ।
सोझा प्रकृतिका चन्द्रमायाका श्रीमान् रामभक्त सार्वजनिक सवारीसाधनको एक काउन्टरमा टिकट काट्ने काम गर्थे। 'जसोतसो एउटा घर किनेर गुजारा चलाउँदै आएका थियौं। पहिले छोरी जन्मजात शारीरिक र मानसिक अपाङ्गता भएकी जन्मिई, त्यही समयदेखि रामभक्त पनि बिरामी परे।,' चन्द्रमाया भन्छिन्, 'बिरामी श्रीमान् र अपाङ्ग छोरीलाई स्याहार्दै म कसरी यहाँसम्म आए होला आजसम्म, सम्झिँदा पनि कहाली लाग्छ।'
भूकम्पले घर भत्किएपछि सबैले घर ठड्याए। तर, लामो समयसम्म चन्द्रमायाको परिवार भूकम्प लाभग्राहीको रुपमा सूचीकृत भएन। भूकम्पपछि बनेपास्थित पुन्यमाता किनारमा भाडामा जसोतसो एउटा टहरो बनाएपछि जग्गा कारोवारीले एक वर्षमै जग्गा बेचियो भनेर हटाइदिए। त्यसपछि पनि नजिकै रहेको किनारमा टहरो सारेर बसेकी चन्द्रमायालाई भत्केको घर नाप्न सर्वेक्षणकर्ता कहिले आए, गए केही पत्तै भएन।
पुन्यमाताको नदी किनारमा भाडा तिरेर बस्दा पनि धेरै पटक बाढीको सामना गरेकी उनी भन्छिन्, 'कहिले आधा जिउँसम्म पानीले डुबायो त कहिले बगाउँला नै जस्तो हुन्थ्यो।' चन्द्रमायाको दुःख त्यतिमै पनि सीमित भएन, बनेपा नगरपालिकाले ‘पुन्यमाता करिडोर’ बनाउने नाउँमा गत वर्ष डोजर लगाएर भएको टहरो पनि भत्काएपछि भने आफ्नो भत्केको घरमै टहरो हालेर बस्नु परेको हो।
सरकारले अनुदान दिन्छ भन्ने सुनेकी चन्द्रमायाले पटक–पटक गुनासो गरेपछि मात्र बल्ल यो वर्ष भूकम्पपीडितको सूचीमा उनको नाम सूचीकृत भएको छ। भूकम्पपीडितको सूचीमा नाम त आयो तर यसबाहेक घर कसरी बनाउने हो भन्ने पीर चन्द्रमाया छ। भन्छिन्, 'कहाँ जाने हो, के गर्ने हो, केही जानेको छैन, निरक्षर छु, कुनै अक्षर पढ्न आउँदैन म के गरुँ?'
आफ्नो बोलिदिने कोही नहुँदा पहिले भूकम्पपीडितको लाभग्राही सूचीमा नपरेको गुनासो गर्दै उनले भनिन्, 'अहिले सूचीमा त परेँ, तर घर बनाउन सक्ने औकात छैन।'
सहयोगको अपिल गरिरहेकी चन्द्रमायाको समस्या थाहा पाएर पनि नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा पनि अहिलेसम्म बेखबर छ। त्यतिबेला शाखा सभापति रघुवर चौ प्रधानले नै भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालय धुलिखेलमा चन्द्रमायाको अवस्थाबारे जानकारी गराउनका साथै एकमुष्ट राहत अनुदानका साथै एकल तथा असहाय महिला भएकाले अनुदानमा पनि ५० हजार रुपैयाँ थप्ने मौखिक सहमति गराएका थिए। सभापति प्रधान भन्छन्, 'केही सहयोगी संस्था खोजेर आवासको प्रबन्ध गर्ने प्रयास गर्दैछौँ।'
वडाध्यक्ष वर्ण शाक्य नगरपालिकाको इञ्जिनियरलाई घरको नमूना र मूल्याङ्कन गर्न लगाउने बताउँछन्। उनी भन्छन्, 'चन्द्रमायाको आवासका लागि वडा कार्यालयबाट आवश्यक कागजात मिलाई पुनर्निर्माण प्राधिकरणलाई एकै पटक अनुदान दिन अनुरोध गर्नेछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।